एक साताभित्र वाणिज्य नीति–२०७२ आउँछ : मन्त्री थापा

शुक्रबार, आषाढ २५, २०७२ साल,

काठमाडौँ । वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले वाणिज्य नीति–२०७२ एक साताभित्र आउने बताएका छन् ।

नेपाल पस्मिना उद्योग सङ्घको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री थापाले उद्योगी, व्यवसायी तथा विज्ञको सुझाव लिएर वाणिज्य नीति–२०५७ लाई परिमार्जन गरी नयाँ नीति ल्याउन लागिएको बताए । नयाँ नीतिले मुलुकमा उत्पादन भएका वस्तु निर्यात तथा व्यवसायीको संरक्षण गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।  

मन्त्री थापाले अहिले देशमा करीब रू। नौ खर्बको व्यापार घाटा रहेको र त्यसलाई हटाउन कृषि क्षेत्र, सेवा क्षेत्र, जलविद्युत् क्षेत्र र बहु क्षेत्रको व्यापक उपयोग गर्नुपर्नेमा जोड दिँदै सहस्राब्दी लक्ष्य हासिल गर्न व्यापार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपालले निजी क्षेत्र अर्थतन्त्रको सम्वाहक भएकाले उनीहरुको सक्रियता नै देश विकासको आधार हुने बताउँदै उद्योग तथा व्यापार फष्टाउन नीतिगत स्थायित्व आवश्यक रहेको र त्यसका लागि राजनीतिक स्थिरताको खाँचो रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेशलाल श्रेष्ठ र नेपाल पस्मिना उद्योग सङ्घका उपाध्यक्ष दुर्गाविक्रम थापाले स्वदेशी उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनका लागि सरकारले व्यवसायीलाई सहुलियत उपलब्ध गराउनुपर्नेमा जोड दिए । नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष पुष्पमान श्रेष्ठले अन्तरराष्ट्रिय बजारमा नेपाली पस्मिनाको राम्रो माग भए पनि कच्चा पदार्थको अभाव, विद्युत् भार कटौतीलगायतका समस्याले विदेश निर्यात गर्न नसकिएको बताए ।

त्यस क्षेत्रमा एक हजार व्यवसायी संलग्न छन् भने २० हजारलाई रोजगारी प्रदान गरेको छ । गएको वर्ष पस्मिना रू. चार अर्बको कारोबार भएको बताइएको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411