नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष को ? तीनै उम्मेदवार भन्छन्: सहमतिको सम्भावना अझै छ

आईतवार, आषाढ १३, २०७२ साल,
काठमाडौं । यही असार १८ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको निर्वाचनमा तीन जना प्रतिस्पर्धामा उत्रिएका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका, यस अघि वरिष्ठ उपाध्यक्षमा पराजित भवानी राणा र अध्यक्षमा पराजित भास्करराज राजकर्णिकारले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

यी तीन मध्ये एक जना महासंघको १७औं अध्यक्ष बन्ने छन् । भ्रष्टाचार अभियोगमा जेल परेपछि पदमुक्त भएका प्रदीपजंग पाण्डेलाई पुर्व अध्यक्ष मान्ने कि नमान्ने भन्ने विषयमा महासंघ भित्र विवाद छ । पाण्डेलाई अध्यक्ष नमाने अब निर्वाचित हुने अध्यक्ष १६औं हुनेछन् ।

महासंघशनिवारसम्म मनोनयन गरेका उम्मेदवारले असार १७ गतेसम्म आफ्नो मनोनयन फिर्ता लिन पाउँछन् । सर्वसम्मत हुन नसके यो पटक सहित सात पटक चुनाव हुनेछ । चुनावी मैदानमा रहेका तीन जनाले मनोनयन दर्ता पछि के भने रु यस्ता छन् उनीहरुका एजेण्डा:
 
भवानी राणा
अहिले आर्थिक रुपमा देश निकै पछाडि परेको छ । निजी क्षेत्रको खम्बा उद्योग वाणिज्य महासंघ पनि समस्याबाट गुज्रिरहेको छ । यसलाई सही बाटो दिनु अहिलेको आवश्यकता हो । हामी एक भएर अघि बढ्ने हो भने मात्रै बलियो हुनसक्छौ । निजी क्षेत्रका मान्छेहरु एक अर्काको बलियो पक्ष भन्दा पनि कमजोर पक्षको पछि लाग्दा अहिले समस्या आयो । निर्वाचन भइसकेपछि हामीले त्यसलाई स्वीकार गर्न सक्नुपर्छ ।

निजी क्षेत्र कमजोर भएको छ, रोजगारी सिर्जनाको कुरा अगाडि बढ्न सकेको छैन । ऊर्जा र कृषि क्षेत्रलाई बलियो बनाएर अगाडि बढाउनु पर्नेमा हामीले त्यो गर्न सकेका छैनौं । एक जिल्ला एक उत्पादन अभियान सुरु गरेका छौं । त्यसलाई पनि अगाडि बढाउनुपर्छ । त्यसैले भूकम्पपछिको नवनिर्माणलाई अगाडि बढाउनु पर्ने सन्दर्भमा अहिलेको अवस्थालाई अवसरका रुपमा लिएर अगाडि बढ्नुपर्छ । निजी क्षेत्रलाई सरकारको बलियो साझेदार बनाउनुपर्छ ।

म सहमतिको बाधक होइन । राजनीति त सहमतिमा अगाडि बढेको छ भने हामीबीच पनि एकता आवश्यक छ । हामीले यसलाई दुईवटा कुराबाट हेर्नुपर्छ । देश भूकम्पबाट ग्रसित छ र महासंघ पनि समस्यामा छ । अहिले सहमति व्यक्तिको हितका लागि भन्दा पनि संस्था बलियो बनाइ आर्थिक विकासका लागि हुनुपर्छ । सहमति सबै पक्षबीच हुने अवस्था आउँदा म बाधक बन्दिनँ ।

मलाई धेरै साथीहरुले महिला मात्रै नभइ क्षमतावान पनि हुनुहुन्छ त्यसैले नेतृत्वका लागि अगाडि बढ्नुस भन्नुभएको छ । एक जिल्ला एक उत्पादन, जिल्ला जिल्लामा हुने आर्थिक विकास जस्ता कुरामा मैले योगदान दिएको छु । महासंघलाई बलियो बनाउन पनि सक्ने विश्वास छ ।

मैले जहिले पनि नेतृत्वमा बसेका नेताहरुलाई झुकेको वृक्ष जस्तै बन्न सुझाव दिएको छु । महासंघमा क्षमता अनुसार कार्यविभाजन गर्नुपर्छ । साँच्चिकै कुरा गर्दा महिलाहरु घरलाई व्यवस्थापन गरेर आफ्नो अरु व्यवसायमा अगाडि बढेका हुन्छन् । त्यसैले महिलाहरु पुरुष भन्दा व्यवस्थापनमा राम्रो मानिन्छन र म पनि महासंघलाई व्यवस्थापन गरेर अगाडि बढ्न सक्छु भन्ने लाग्छ ।
 
पशुपति मुरारका
हामीले उम्मेदवारी त दिएका छौं तर उम्मेदवारी दिँदा एउटा उत्साह हुनुपर्ने कुरा आफ्नो ठाउँमा छ तर यसपटक साथीहरुले मिलाएर जानुपर्छ भन्नुभएको छ । तर त्यो हुन सकेको छैन । सर्वसम्मतमा प्रयास त छ तर अहिलेसम्म त्यो हुन सकेको छैन । हामी सहमतिको प्रयास जारी नै राख्छौं ।

हामी सकेसम्म एकतामा जाऔं र निजी क्षेत्रलाई मिलाएर लैजाऔं भन्नेमा छौं । अहिलेको अवस्थामा राजनीतिक दलहरु त मिलेका छन् भने हामी पनि मिल्न सक्छौं । मैले त कार्यवाहक अध्यक्ष भएर पनि काम गरेको हुनाले बाँकी समय पनि काम गर्न पाउँ भन्ने हो र साथीहरुले पनि त्यही भन्नुभएको छ । अझै ६ दिन बाँकी छ हामी सहमतिको प्रयास गर्नेनै छौं ।

सबैले आ-आफ्ना कुरा राखेका छन् । महासंघमा कार्यकारिणी अधिकार त्यस्तो केही छैन । हामी सरकारलाई सल्लाह दिने हो र उद्योगी व्यवसायीमा परेका समस्या समाधानका लागि पहल गर्ने हो । हाम्रो प्रमुख एजेण्डा लगानीमैत्री वातावरण हो । यसले मुलुककै आर्थिक विकासमा योगदान पुग्छ ।

खासगरी भूकम्पपछि १४ वटा जिल्लामा उद्योगी व्यवसायीको काम ध्वस्त भएको छ । साना तथा मझौला उद्योगमा पनि ठूलो नोक्सान भयो ।  हामी भूकम्पपछिको आर्थिक विकास र उद्योग व्यवसायको विकासका लागि काम गर्छौं ।
 
भाष्करराज राजकर्णिकार
निजी क्षेत्रको सशक्तिकरण अहिले थप टड्कारो भएको छ । अहिले राष्ट्रिय विपत्तीको बेला छ । यो बेलामा निजी क्षेत्र अझै बलियो हुनुपर्छ । त्यसका लागि हामी एक हुनुपर्छ । फेरि तपाईंले सोध्नुहोला, तीनजना अध्यक्षका आकांक्षी छन् भनेर । आकांक्षी त धेरै हुन सक्छन् । तर कसले नेतृत्व गर्न सक्छ भन्ने मूल प्रश्न हो । हाम्रा पूर्वअध्यक्षहरुले जुन खालको पहल गरिरहनु भएको छ त्यसमा म बाधक बन्दिन भन्ने मेरो प्रतिबद्धता छ ।

प्रजातान्त्रिक प्रक्रिया अपनाउँदा हरेक संस्थामा जस्तै उद्योग वाणिज्य महासंघमा पनि विभिन्न खाले स्वस्थ र अस्वस्थ प्रतिस्पर्धाहरु भएका छन् । प्रजातान्त्रिक प्रक्रिया अपनाइसकेपछि सुन्दर पक्षसँगै अरु कुरा पनि हेर्नुपर्छ । जहाँसम्म महासंघ अहिलेको अवस्थामा आइपुगेको कुरा छ, त्यो कुनै एउटा व्यक्तिको कुरा होइन, यो समग्र विधि, महासंघको विधानको कुरा हो ।

विधानमा केही कुरा लेखिएका छन् । मेरो एउटा निजी विचारबाट संस्था चल्न सक्दैन, विधि र विधानबाट चल्नुपर्छ । उद्योग वाणिज्य महासंघमा विधान भन्दा बाहिरका मान्छे रहनु हुँदैन भन्ने मेरो भनाइ हो । महासंघ अब व्यवसायीको मात्रै संस्था होइन । यो आम नेपालीको संस्था हो । हरेक क्षेत्रलाई अफ्टेरो पर्दा हेर्ने संस्था भनेको यही हो ।

जहाँसम्म आजको दिन आएको छ त्यसमा मेरै अडानका कारण आएको हो । विधि र पद्धतिका लागि मैले जुन अडान राखें त्यसले नै आजको दिन आएकाले अबको नेतृत्व मैले गर्न पाउनुपर्छ भन्ने मेरो धारणा छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411