​दश महिनामा ७ खर्बको बैदेशिक व्यापार, आयात ६२८ अर्ब, निर्यात ७१ अर्ब

आईतवार, आषाढ ६, २०७२ साल,
काठमाडौं । चालु आर्थिक वर्षको वैशाख महिनासम्म ७ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । कुल व्यापारमध्ये ७० अर्ब ९८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ भने ६ खर्ब २८ अर्ब ११ करोड रुपैयाँको आयात भएको छ ।

अघिल्लो वर्षको दश महिनामा ६ खर्ब ५६ अर्ब ४ करोड रुपैयाँ बराबरको वस्तुहरु आयात निर्यात भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष वैदेशिक व्यापार करिव ४४ अर्ब रुपैयाँले बढेको छ ।

दश महिनाको अवधिमा निर्यात ५.५ प्रतिशतले घटेको देखिन्छ भने आयात ८.१ प्रतिशतले बढेको देखिन्छ । निर्यातको तुलनामा आयात बढेपछि व्यापार घाटा १०.१ प्रतिशतले बढेर ५ खर्ब ५७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । भारतसँगको व्यापार घाटा ३.८ प्रतिशतले बढेको छ भने चीनसँग ४४.९ प्रतिशत र अन्य मुलुकसँग ११.५ प्रतिशतले बढेको छ ।

कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात ७.४ प्रतिशतले घटेको छ । जिङ्क शिट, अलैंची, लत्ताकपडा, जुटका सामान लगायतका वस्तुहरुको निर्यातमा आएको ह्रासका कारण भारततर्फको निर्यात घट्न गएको हो ।

चीनतर्फको निर्यात अघिल्लो वर्षको सोही अवधिमा १२.५ प्रतिशतले बढेकोमा यस वर्ष ४.२ प्रतिशतले मात्र बढेको छ । प्रशोधित छाला, हस्तकलाका सामान, तयारी पोशाक, रुद्राक्ष लगायतका वस्तुहरुको निर्यातमा भएको वृद्धिका कारण समीक्षा अवधिमा चीनतर्फको निर्यात बढेको हो ।

यसैगरी, अन्य मुलुकतर्फको निर्यात अघिल्लो वर्ष १६.४ प्रतिशतले बढेकोमा यस वर्ष २.१ प्रतिशतले घटेको छ । दाल, ऊनी गलैंचा, प्रशोधित छाला, तयारी पोशाक लगायतका वस्तुहरुको निर्यात घटेको कारण अन्य मुलुकतर्फको निर्यात घटेको हो ।
कुल आयातमध्ये भारतबाट भएको आयात २.४ प्रतिशतले बढेको छ । यातायातका साधन तथा पाटपूर्जा, चामल, एम।एस विलेट, विद्युतीय सामान लगायतका वस्तुहरुको आयात बढेको कारण भारतबाट भएको आयात बढेको हो ।

चीनबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको १४।९ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ४३.५ प्रतिशतको उच्च दरले बढेको छ । दूरसञ्चारका उपकरण तथा पाटपूर्जा, मेशिनरी तथा पाटपूर्जा, विजुलीका सर-सामान, रासायनिक मल लगायतका वस्तुहरुको आयात बढेको कारण चीनबाटको आयात वृद्धि भएको हो ।

हवाइजहाज तथा पाटपूर्जा, चाँदी, खाने तेल, कच्चा पाल्म तेल लगायतका वस्तुहरुकोे आयात बढेको कारण अन्य मुलुकबाट भएको आयात पनि बढेको देखिन्छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411