​ भौगर्भिक अध्ययन गरेरमात्रै पुनःनिर्माण गर्न संसदीय समितिको सरकारलाई निर्देशन

मंगलवार, आषाढ १, २०७२ साल,
काठमाडौ । व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले भूकम्प प्रभावित जिल्लामा भौगर्भिक अध्ययन गरेर मात्र निर्माणका काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिले कृषि विकास, भूमिसुधार तथा व्यवस्था, ऊर्जा र सिँचाइ मन्त्रालय र सम्बन्धित क्षेत्रका विज्ञसँग गत जेठ २४, २६ र २९ गते गरेको छलफलका आधारमा त्यस्तो निर्देशन दिएको हो ।

समितिले भूगर्भ विभागसँगको समन्वयमा मात्र पुनःनिर्माणका योजना बनाउन र त्यसलाई कडाइका साथ कार्यान्वयन गर्न÷गराउन निर्देशन दिनुका साथै भू–क्षमतासम्बन्धी नक्सा र भौगर्भिक नक्साका आधारमा बस्ती बसाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

कृषि तथा जलस्रोत समितिले आज उपलब्ध गराएको बैठकको निर्णयसम्बन्धी विवरणअनुसार बस्ती विकासका लागि योग्य स्थान पहिचान गर्ने र बाढी पहिरोको जोखिममा भूकम्प प्रभावित क्षेत्रका जुनसुकै बस्ती पनि पर्ने सम्भावना रहेकाले विशेष ध्यान दिन सचेत गराइएको छ ।

विपद्पछिको समग्र वस्तुस्थितिको मूल्याङ्कन तथा विभिन्न विषय विज्ञहरुको छलफलका आधारमा भौगर्भिक अध्ययन नगरी पुरानै तरिकाले आवास बनाउँदा भविष्यमा पनि सङ्कट सिर्जना हुने भएकाले भूमिसुधार तथा व्यवस्था मन्त्रालय र खानी तथा भूगर्भ विभागको परामर्श लिन आग्रह गरेको सभापति गगन थापाले राससलाई बताउनुभयो ।

बस्ती विकासको रणनीति बनाउँदा सावधानी अपनाउन तथा भूकम्प प्रभावित जिल्लाका कम्तीमा २० भन्दा बढी स्थानमा पहिरोको जोखिममा रहेकाले भूगर्भशास्त्री तथा विज्ञले मिहिन ढङ्गले अध्ययन गर्नुपर्नेमा समितिले जोड दिएको पनि सभापति थापाको जानकारी दिनुभयो ।

जोखिमयुक्त बस्ती र जलाधार क्षेत्रको प्राथमिकता निर्धारण गरी त्यसको प्राविधिक अध्ययन गर्न र भू–उपयोगको अवस्थाअनुसार दीर्घकालीन पुनःस्थापनाको कार्ययोजना बनाउन पनि समितिले सरकारलाई सुझाएको छ ।

बस्ती विकाससम्बन्धी नीतिगत सुधारका विषयमा १५ दिनभित्र विस्तृत खाका तयार गरी समितिसमक्ष पेस गर्न भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।

पुनःनिर्माणका कामलाई पहिलो प्राथमिकतामा राखेर जनशक्ति, स्रोत र साधनको अधिकतम परिचालन गरी सबै काम तदारुकताका साथ अघि बढाउन पनि समितिले अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411