जमीनमुनी सुन र चाँदी भेटियो

शुक्रबार, बैशाख २०, २०७६ साल,
अछाम । साँफेबगर नगरपालिका–२ जाल्पादेवीको श्रीकोटमा जमीनमुनी सुन चाँदीका गहना फेला परेका छन् । श्रीकोटस्थित त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा मजदूरले सुन र चाँदी भेटाएका हुन् ।

चारकोठे भवनको पिल्लरका लागि जग खन्ने क्रममा मजदूरले १९ तोला ८९ लाल अर्थात् २३१ दशमलब ६७ ग्राम सुन र १३२ तोला ७३ लाल अर्थात् एक हजार ५४८ ग्राम चाँदी फेला परेको प्रहरीले जनाएको छ । फेला पारेको सुनचाँदी जिल्ला प्रहरी कार्यालय पठाइएको जनाइएको छ । सुन र चाँदी भेटिएको स्थानमै मानिसको खुट्टा जस्तो देखिने पहेलो धातु पनि भेटिएको छ ।

सुन र चाँदी भेटाएका मजदूरबीच भागबण्डामा विवाद भएपछि कुरा बाहिर आएको साँफेबगर–२ का वडाध्यक्ष कालुसिंह कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “करीब एक हप्ता अगाडि नै फेला परेको सुन चाँदी हो, तर मजदूरबीच कुरा नमिल्दा हिजो मात्र बाहिर आएपछि थाहा भयो, अहिले प्रहरीको निगरानीमा भवनको जग खन्ने काम भइरहेको छ ।”

सो ठाउँबाट पुराना भगवान्का मूर्तिसमेत फेला परेका छन् । “पहिले राजाको बसोबास रहेको ठाउँ भएकाले पुराना सुनचाँदी भेटिएको हो” वडा अध्यक्ष कुँवरले भन्नुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त धातु फेला पार्ने सात मजदूरलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ । सुन फेला पारेका र हाल प्रहरीको नियन्त्रणमा रहेकामा साँफेबगर–४ का हरिजन साउद, सोही ठाउँका मिन ठकुल्ला, कृष्ण ठकुल्ला, वडा नम्बर ५ का महेन्द्र बुढा, पिटर ठकुल्ला, कालु नेपाली र आशिश लामा प्रहरी नियन्त्रणमा छन् ।

जिल्ला प्रहरी कार्यालय अछामले भने जमीनमुनी फेला परेको उक्त धातुलाई सुन जस्तो धातु भनेको छ । विसं १४०९ मा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उहाँको प्रभावलाई नष्ट पार्न र सिंजाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थालेपछि त्यस बेला सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको स्थानीय बताउँछन् । पछि गएर स्थानीयले श्रीकोट भन्न थालेको उक्त स्थानमा परापूर्व कालका सुनचाँदीका धातुका गरगहना फेला परेको हुनसक्ने बताइएको छ । विसं १४२४ मा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411