तिहारअघिको अन्तिम कारोबारमा सेयर बजारका सबै सूचक बढे

बुद्धबार, कार्तिक १, २०७४ साल,
काठमाडौं । तिहारअघिको अन्तिम कारोबारमा सेयर बजारका सबै सूचकहरुमा हरियो अंक छाएको छ। नेप्से परिसूचक ९ अंकले तथा सेन्सेटिभ इन्डेक्स १.७ अंकले उक्लिएको छ।

कारोबार रकम यस दिन केही खस्किएको छ। आज कारोबार भए पनि राफसाफ तिहारपछि मात्रै हुने भएकाले कारोबार रकम खस्किएको हो। त्यस्तै केही कम्पनीको कारोबार रोक्का भएपछि त्यसले पनि असर पारेको हो। समयमै नेप्सेलाई नवीकरण शुल्क नबुझाउँदा सूचीकृत केही कम्पनीको कारोबार रोक्का भएको छ।

यस दिन कुल १४५ कम्पनीको ४३ करोड २५ लाखको कारोबार भएको छ। बजारको पुँजीकरण १८ खर्ब २० अर्ब कायम भएको छ। सबै समूहहरुमा हरियाली छाउँदा बिमा समूह सबैभन्दा धेरै ९७ अंकले बढेको छ। बैंकिङ ४, व्यापार ६, होटल ३, विकास बैंक १४, जलविद्युत ११, फाइनान्स ७ र अन्य समूह ९ अंकले उक्लिएका छन्।

कारोबार रकमका आधारमा नेसनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर अग्रस्थानमा रह्यो। सो कम्पनीको ४ करोड ४० लाखको कारोबार भयो। त्यस्तै चिलिमेको ३ करोड ९६ लाखको कारोबार भयो। उसको मूल्य बढेर ९०१ पुगेको छ।

ङादी पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ५.२ प्रतिशत नाफा कमाए। बरुण हाइड्रोको मूल्य ५ प्रतिशतले बढेको छ। गुराँस लाइफ, वमी माइक्रो, सनराइज बैंकका लगानीकर्ता पनि नाफाका आधारमा अगाडि रहे।

बेस्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ८.९ प्रतिशत मूल्य चुकाए। वमी माइक्रोले साधारणसभाको मिति कात्तिक ३० गतेका लागि तोकेको छ। कात्तिक १६ गते बुक क्लोज हुनेछ। २० प्रतिशत बोनस दिइ त्यसपछि आउने पुँजीको ३० प्रतिशत हकप्रद सेयर कम्पनीले जारी गर्दैछ।  त्यस्तै साल्ट ट्रेडिङको बोनस सेयर बजारमा सूचीकृत भएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411