छ्याङ्दी हाइड्रोको साधारण सेयर बाँडफाँड

सोमबार, फागुन ९, २०७३ साल,
काडमाडौं । लमजुङ जिल्लाका आयोजना प्रभावितका लागि छ्याङ्दी हाइड्रोले निष्कासन गरेको दुई लाख ७० हजार कित्ता साधारण सेयर बाँडफाड भएको छ । 

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले सोमबार उक्त सेयर बाँडफाँड गरेको हो । स्थानीय सबै आवेदकले सेयर पाएका छन् । 

हाइड्रोले सर्वसाधारणका लागि छुट्याइएको सात लाख २० हजार कित्ता मध्येबाट आयोजना प्रभावितका लागि दुई लाख ७० हजार कित्ता सेयर निष्काशन गरेको थियो । आयोजना प्रभावितहरुबाट कुल चार हजार तीन सय ६७ वटा आवेदन परेकोमा सबै आवेदकलाई सेयर बाँडफाँड गरिएको छ । 

तीन फरक फरक मोडलमा गरिएको बाँडफाँड अनुसार आयोजनाका अति प्रभावित क्षेत्रका दुई सय ४७ जनालाई एक लाख आठ हजार कित्ता सेयर बाँडफाँड गरिएको छ । 

त्यसै गरी आयोजना प्रभावित क्षेत्रका दुई हजार ८४ जनालाई पनि एक लाख आठ हजार कित्ता सेयर बाँडफाँड गरिएको छ । अति प्रभावितमा दुई सय ४७ जनालाई बितरण गरिएको सेयर संख्या यहाँ दुई हजार ८४ जनालाई बितरण गरिएको हो । 


बाँकी रहेको ५४ हजार कित्ता सेयर दुई हजार ३६ जना आवेदक मध्ये दुई हजार ३२ जनालाई समानुपातिक रुपमा बितरण गरिएको छ । चार जना आवेदकले भने विभिन्न कारणले सेयर पाएका छैनन् । 

कम्पनीका अनुसार आयोजनाबाट अति प्रभावित तथा प्रभावित लमजुङका फलेनी, बसन्तपुर, ढडेनी, चिति, नौथर र बेंशीशहर नगरपालिकाका बासिन्दालाई ४० प्रतिशत, तथा अरु न्युन प्रभावित बासिन्दाहरुका लागि २० प्रतिशतका दरले सेयर बाँडफाँड गरिएको हो ।

लमजुङकोे फलेनी र वन्सार गाविसको मध्य भागमा रहेको छन्दी खोलामा निर्माण सम्पन्न भएको २ मेगावाट क्षमताको जलविद्युत आयोजनाले नियमित विद्युत उत्पादन सुरु गरी केन्द्रिय प्रशारण लाइनबाट विद्युत बितरण गरिरहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411