सेयर बजारमा साढे २६ अंकको सुधार, ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच

सोमबार, फागुन २, २०७३ साल,
काठमाडौं । आइतबार ४४ अंकले पहिरो गएको सेयर बजारले आज सोमबार बढेको छ । १२५२.५१ अंकबाट सुरु भएको कारोबार सोमबार कारोबार बन्द हुँदासम्म १२७८.९८ अंकमा पुगेको छ । कारोबार खुलेको तीन घण्टामा १२१९ अंकसम्ममा झरेको बजार अन्तिम एक घण्टामा निरन्तर उकालो लागेर २६.४८ अंकको वृद्धिसँगै बन्द भएको हो ।

सोमबार होटल, फाइनान्स र उत्पादनमूलकबाहेक कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै बीमा समूह १९२.८९ अंकले बढेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत् र अन्य क्रमशः ३०.२३, ३.७९, ३३.५९ र १५.३३ अंकले बढेका छन् । होटल, फाइनान्स र उत्पादनमूलक भने क्रमशः १४.४३, ४.४५ र २.७९ अंकले घटेका छन् ।

बजार नाटकीय ढंगले बढेको दिन कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । दिनभरिमा १३८ वटा कम्पनीको १३ लाख एक हजार २९ कित्ता सेयर पाँच हजार आठ सय २० पटक खरिदविक्री हुँदा कुल ५० करोड १५ लाख २८ हजार १८ रुपैयाँ पुँजी परिचालन भएको छ ।

कुल कारोबारमध्ये, नेपाल बंगलादेश बैंकको सबैभन्दा धेरै तीन करोड ४६ लाख ९५ हजार सात सय ६७ रुपैयाँको कारोबार भएको छ । बैंक अफ काठमाण्डू लुम्बिनी, सानिमा बैंक, अरुण फाइनान्स प्रोमोटर र प्रभु बैंकको दुई करोडमाथिको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक प्रोमोटर, शिखर इन्स्योरेन्स, नविल बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।

स्वाबलम्बन विकास बैंकका सेयरधनीले सोमबार १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा सिद्धार्थ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सका सेयरधनीले क्रमशः ९.९०, ९.८९ र ९.८३ प्रतिशतले कमाएका छन् । लुम्बिनी जेनेरल इन्स्योरेन्सका सेयरधनीले ८.७ प्रतिशतले कमाउँदा फस्र्ट माइक्रोफाइनान्स, राप्तीभेरी विकास बैंक, अरुण भ्याली हाइड्रो र कुमारी बैंकका सेयरधनीले ७ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । प्रिमियर इन्स्योरेन्सका सेयरधनीले ६.७७ प्रतिशतका दरले कमाएका छन् ।

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको सगरमाथा इन्स्योरेन्सका सेयरधनीले ९.७८ प्रतिशतका दरले सम्पत्ति घटाउँदा नेरुडे लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, अरुण फाइनान्स प्रोमोटर र भार्गव विकास बैंकका सेयरधनीले ६ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । पोखरा फाइनान्स, एनबी इन्स्योरेन्स र नविल ब्यालेन्स फण्डका सेयरधनीले ५ प्रतिशतभन्दा बढीले गुमाएका छन् । रिडी हाइड्रो, सहयोगी विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411