खोरुङ्गा जलविद्युत् आयोजनामा तीन बैङ्कको एक अर्ब लगानी

मंगलवार, माघ २५, २०७३ साल,
काठमाडौँ । तेह्रथुम पावर कम्पनीले ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । 

आयोजनामा माछापुच्छ्रे बैंक लिमिटेडको नेतृत्वमा नेपाल बङ्गलादेश बैंक र जनता बैंकले लगानी गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । 

सो सम्झौतामा कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र बैंकका प्रतिनिधिहरुले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । 

कुल एक अर्ब ३७ करोड लागत अनुमान गरिएको आयोजनामा ३७ करोड प्रवर्द्धक संस्थाले र बाँकी रकम माछापुच्छ्रे बैंक लिमिटेडले ४० करोड, नेपाल बङ्गलादेश बैंकले ३० करोड र जनता बैंकले ३० करोड लगानी गर्ने भएका छन् । 

विसं २०६७ पुस १ गतेबाट उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । स्थानीयवासीलाई १० प्रतिशत सेयर प्रदान गर्ने जानकारी दिँदै प्रबन्ध सञ्चालक डाँगीले आयोजनाबाट उत्पादित विद्युत् ४.७ किलोमिटर लामो ३३ केभि प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको जिरीखिम्ती सवस्टेसनमा जोडिने बताए । 

तेह्रथुमको मोराहाङ, श्रीजुङ, पौठाक र ओयाक्जुङ गाविसकोबीच भएर बग्ने खोरुङ्गा खोलाबाट विद्युत् उत्पादन गर्ने गरी २०६६ साल मङ्सिरमा विद्युत् सर्वेक्षण अनुमतिपत्र लिइएको थियो । २०७३ भदौमा यस कम्पनीले उत्पादन अनुमतिपत्र लिएको थियो । 

प्राधिकरणसँग वर्षामा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता भएको छ । 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागार्इंले आयोजनालाई तोकिएको समयमा सम्पन्न गर्न सबैको सार्थक सहयोग जरुरी रहेको बताए । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411