​४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीबाट आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य

आईतवार, पौष ३, २०७३ साल,
लामाबगर । चारसय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ दु्रतगतिमा काम भइरहेको छ ।

गत वर्षको भूकम्पबाट क्षतविक्षत भएको पहुँचमार्ग परिवर्तन गरी सुरुङ खनेर बाँधस्थलसम्म पुग्ने बाटो गत मङ्सिर १६ गते सम्पन्न भएपछि २०७५ असार देखि विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको हो ।

आयोजनाको पछिल्लो प्रगतिबारे जानकारी लिँदै ऊर्जामन्त्री जनार्दन शर्मा, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायत आयोजना प्रमुखसहितको निरीक्षण टोलीलाई आगामी डेढ वर्षभित्रमा जसरी पनि आयोजनाबाट विद्युत् उत्पादन गर्ने प्रयासका साथ अहोरात्र काम गरिरहेको अवगत गराइएको छ ।

हाल विद्युत् गृह र बाँध निर्माणको काम दु्रतगतिमा भइरहेको छ । आयोजनाको ‘सिभिल, हाइड्रो मेकानिकल, मेकानिकल र इलेक्ट्रिकलका साथै प्रसारणलाइन एवम् सवस्टेसन निर्माणको ठेक्का पाएका अन्तर्राष्ट्रिय ठेकेदारहरुले २०७५ असारसम्ममा विद्युत् उत्पादन सम्पन्न गर्न कठिन हुने बताएका छन् ।

मन्त्री शर्मासँगको छलफलमा त्यस्तो जानकारी प्रस्तुत भएपछि उनले आगामी तीनदिनभित्र नयाँ कार्यतालिका सरकारसमक्ष पेस गर्न सम्बद्ध सबैलाई निर्देशन दिए ।

सिभिल कार्यअन्तर्गत ८५ दशमलव ३ प्रतिशत काम पूरा भइसकेको छ भने मुख्य सुरुङको माथिल्लो पेनस्टक अडिटबाट माथिल्लो खण्डतर्फ सुरुङ खन्न थालिएको छ ।

जम्मा १६ दशमलव ९ किलोमिटरमध्ये १५ दशमलव १५ किलोमिटर सुरुङ पनि खनिसकिएको छ । विद्युत् गृहअन्तर्गतको तीनहजार दुईसय १३ मिटर लामो सुरुङ पनि पूरा भएको छ ।

मेकानिकल तथा इलेक्ट्रिकल कार्यअन्तर्गत आवश्यक उपकरण ढुवानी भइसकेको छ भने टर्वाइन हाउसिङ र डिस्टिब्युटर जडान गरी परीक्षणसमेत पूरा भइसकेको छ । त्यस्तै, प्रसारण लाइनअन्तर्गत खडा गरिने एकसय २७ वटा टावरमध्ये ५७ वटाको जग निर्माण गरी ६६ वटा टावरको जडान पनि पूरा भएको छ ।

स्वदेशी लगानी रु ३५ अर्ब २९ करोडमा निर्माणाधीन आयोजनामा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थान र नेपाल सरकारबाट पुँजी प्रवाह भएको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411