४० मेगावाटको राहुघाट आयोजनाले सर्वसाधारणलाई पनि सेयर दिने

सोमबार, कार्तिक २९, २०७३ साल,
म्याग्दी। नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पिप्ले गाविसमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनामा स्थानीयलाई लगानीको अवसर सिर्जना गरिने भएको छ ।

सिभिल निर्माणको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी आइभीआरसिएलसँग सम्झौता तोडेपछि नेपाल विद्युत् प्राधिकरणले कम्पनी लिमिटेडमा आयोजनालाई अघि बढाउने निर्णय गरेको हो ।

प्राधिकरणले स्थानीयलाई पनि लगानीको अवसर दिने गरी आयोजनालाई अगाडि बढाउने तयारी गरेको हो । प्राधिकरणले आयोजनाका लागि भारतीय एक्जिम बैंकबाट चार करोड डलर सहुलियतपूर्ण ऋण लिनेछ । तत्काललाई १० प्रतिशत सेयर स्थानीयले पाउने भए पनि प्राधिकरण सञ्चालक समितिको बैठकले त्यसलाई बढाउन पनि सक्ने जनाएको छ ।

आयोजनालाई कम्पनीको मोडेलमा सञ्चालन गर्दा स्थानीयले पनि लगानीको अवसर पाउने र आयोजनालाई सहज रुपमा सम्पन्न गर्न सहयोग पुग्ने राहुघाट आयोजनाका प्रशासकीय अधिकृत काशीराम दाहालले बताए।

विसं २०६७ देखि निर्माण सुरु भएको राहुघाटमा ठेकेदार कम्पनीले विभिन्न बहाना बनाउँदै काम नगरेपछि एक वर्षअघि प्राधिकरणले ठेक्का सम्झौता रद्द गरेको थियो । आइभीआरसियलले दुई अर्ब ७९ करोड ७८ लाख रुपैयाँमा सिभिल, सुरुङ, सडक, विद्युत्गृह र बाँध निर्माण गर्ने सम्झौता गरे पनि तिल्केनीचौरमा अडिंत नम्बर ३ को ६५ मिटर सुरुङमार्ग र एक हजार ८० मिटर मात्रै सडक निर्माण गरेको छ ।

विवादकै कारण स्थगित अवस्थामा रहेको आयोजनाको बाँध र विद्युत गृहको काम नै सुरु हुन सकेको छैन । सरकारले आयोजनाका लागि पिप्ले, भगवती, दग्नाम र झिं गाविसमा २८२ रोपनी जग्गाको मुआब्जा वितरण गरी अधिग्रहण गरिसकेको छ । छ वर्षमा आयोजनाको समग्र भौतिक प्रगति १२ प्रतिशत मात्रै छ ।

आइभीआरसियलसँग सम्झौता रद्द गरेसँगै गत वैशाखमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ३२ मेगावाट क्षमतालाई बढाएर ४० मेगावाट बनाउने निर्णय गरेको थियो । क्षमता बढेपछि आयोजनाको लागत आठ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । आयोजनाका प्रमुख कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएपछि रमेशमान श्रेष्ठलाई निमित्त आयोजना प्रमुख तोकिएको छ । रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411