धरहरा निर्माण गर्न सेनाले दियो ६ करोड १७ लाख, ३ अर्ब खर्च लाग्ने अनुमान

सोमबार, कार्तिक २२, २०७३ साल,
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रको गौरवका रुपमा रहने धरहरा निर्माणका लागि नेपाली सेनाले करिब रु छ करोड १७ लाख १३ हजार ७८३ को चेक हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री कार्यालयमा आज आयोजित समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले धरहरा निर्माणका लागि सकल दर्जाको तर्फबाट सङ्कलन गरिएको उक्त रकमको चेक हस्तान्तरण गरे ।

विसं २०७२ वैशाख १२ गते शनिबार गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पबाट काठमाडौँको मध्यभागमा रहेको नौ तले धरहरा भत्किएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले राष्ट्रको गौरवका रुपमा रहेको ऐतिहासिक धरहरा निर्माणमा सबै मुलुकवासीको सहभागिता रहोस् भनी ‘मेरो धरहरा म आफैँ बनाउँछु’ भन्ने नारा दिई निर्माणमा सहयोग गर्न आह्वान गरेको थियो ।

सो आह्वानअनुरुप हालसम्म धरहरा निर्माणका लागि सहयोगस्वरुप रु तीन करोड रकम जम्मा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । नेपाली सेनाले प्रदान गरेको रकम अहिले सङ्कलन भएको रकमभन्दा दोब्बर बढी रहेको छ ।

राजधानी घुम्न आउने स्वदेशी तथा विदेशीका लागि आकर्षणको केन्द्रका रुपमा रहँदै आएको धरहरालाई पुरानो पहिचान खुल्ने गरी आधुनिक ढङ्गबाट निर्माण गरिने धरहरा ११ तलाको हुनेछ ।

हालको टक्सार विभाग र गोश्वारा हुलाकको जग्गालाई समेटेर ४२ रोपनी जग्गामा धरहरा निर्माण गर्ने निर्णय सरकारबाट भइसकेको छ । २४५ फिट अग्लो हुने भनिएको धरहरा निर्माण थालनी भएको तीन वर्षमा पूरा हुनेछ ।

धरहरा निर्माणका लागि पुरातत्व विभागको अगुवाइमा काम अघि बढिरहेको छ । आठ रिक्टर स्केलको भूकम्प थेग्ने उक्त धरहरा निर्माणका लागि करिब रु तीन अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । सेनाको सहयोगबाट सकारात्मक सन्देश प्रवाह भएको छ

सो अवसरमा चेक ग्रहण गर्दै प्रधानमन्त्री एवम् राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष दाहालले नेपाली सेनाले संस्थागत रुपमा धरहरा निर्माणका लागि उपलब्ध गराएको सहयोगबाट नेपाली जनतामा सकारात्मक सन्देश प्रवाह भएको बताए ।

उनले भने–“नेपाली सेनाले तदारुकताका साथ जिम्मेवार बोध गरी सङ्गठनलाई परिचालन गरी रकम सङ्कलन गरेर हस्तान्तरण गरिएबाट आमजनतामा सकारात्मक र राम्रो सन्देश जाने छ । संस्थागत रुपमा भएको सेनाको कामले अरुलाई पनि प्रेरणा दिने छ ।”

धरहरा निर्माणका लागि अहिलेसम्म सङ्कलन भएको रकमको परिमाण हेर्दा त्यति धेरै उत्साहवद्र्धक नरहेको बताउँदै प्रधानमन्त्री दाहालले भने– “धरहरा निर्माणमा सहयोग पु¥याउने आमनेपालीको जिम्मेवारी र कर्तव्यको कुरा भएकाले त्यसलाई पनि निरन्तरता दिँदै सरकारले वैकल्पिक व्यवस्थाबारे पनि सोच्ने छ ।”

सो अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालको राष्ट्रिय गौरवका रुपमा रहेको ऐतिहासिक सम्पदा धरहराको निर्माणमा योगदान होस् भनी सकल दर्जाको तर्फबाट सङ्कलन गरिएको रकमको चेक हस्तान्तरण गरिएको बताए । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411