ग्रामीण भेगमा वित्तीय सेवा पुर्याउन मेघा र सक्षमको सहकार्य

मंगलवार, फागुन २६, २०७१ साल,
काठमाडौं । वित्तीय सेवाबाट वञ्चित भएका मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका  ६ जिल्लाका विपन्न वर्गको आर्थिक उत्थानका निम्ति मेगा बैङ्क र सक्षम नामक वित्तीय सेवा प्रदायक निकायबीच सहकार्यको सम्झौता भएको छ ।  

राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा उक्त बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी)को सहायतामा सञ्चालित सक्षम कार्यक्रमसँगको सहकार्यमा ग्रामीण भेगका विपन्न समुदायको आर्थिक उन्नयनमा मद्दत गर्न तीनवर्षे सहकार्यको सम्झौता भएको घोषणा गरे  । 

साना तथा मझौला उद्योग सञ्चालनका साथै उद्यमशीलता विकास गर्न चाहने अछाम, बैतडी, कैलाली, डडेल्धुरा, सल्यान र दाङका सर्वसाधारणलाई लक्ष्यित गरी मेघा–सक्षम सहकार्य शुरु गरिएको जानकारी दिँदै उनले मुलुकका सर्वाधिक गरिबको बसोवास रहेका ती जिल्लालाई कार्यक्रम कार्यान्वयनका लागि चयन गरिएको बताए । बैङ्क, वित्तीय संस्था तथा सहकारीले आफ्नो सेवामा समेट्न नसकेका वर्गलाई केन्द्रित गरेर स्थानीय मागअनुसार पूँजी प्रवाह गर्ने लक्ष्य यो कार्यक्रमले राखेको छ । 
प्रमुख कार्यकारी अधिकृत शाहका अनुसार नौ हजारभन्दा बढी महिला तथा पिछडिएका समुदायलाई सरल एवम् सहज ढङ्गले व्यवसाय थाल्न कर्जा प्रदान गरिने छ । कार्यक्रममा दिइएको जानकारीअनुसार सरकार र केन्द्रीय बैङ्कको स्वीकृतिमा मेघा–सक्षम सहकार्य प्रारम्भ गरिएको हो ।  रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411