​काठमाडौं स्तम्भ निर्माण ढिला नगर्न कामपाले दियो चेतावनी

शुक्रबार, जेष्ठ २८, २०७३ साल,
काठमाडौं  । पुरानो बसपार्कमा निर्माण गर्ने भनिएको काठमाडौं स्तम्भ निर्माणको काम ढिला नगरी तत्काल शुरु गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ । 

झण्डै दुई महीनाअघि नै निर्माणको काम शुरु गर्ने भनेर पुरानो बसपार्कबाट आवतजावत गर्ने यातायातका साधनलाई खुला मञ्चमा सारिसकिएको छ । अहिलेसम्ममा स्तम्भ निर्माणका लागि जग राख्ने काम सकिसक्नुपर्ने भए पनि हालसम्म कुनै काम नभएकाले अब केही दिनमा पनि काम शुरु नगरे हाल निर्माणको लागि जिम्मा पाएको कम्पनीलाई रोक लगाउने कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

 स्तम्भ निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द र विकोईका प्रमुख मनोज भेटुवालले भने निर्माण सामग्रीको अभावले गर्दा ढिला भएको बताए ।‘टावर निर्माणको सम्पूर्ण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण शुरु गर्न ढिला भएको हो’  भेटुवालले भने । उनका  अनुसार सिमेण्ट, ढुङ्गा , गिट्टी बालुवालगायतको सामग्रीबाहेक अन्य सबै निर्माणका सामान भारतबाट ल्याउनुपर्छ ।

हाल पुरानो बसपार्कमा जस्ताले बार्ने काम मात्र भएको छ । भारतबाट आवश्यक सामग्री केही दिनमा आइपुग्ने र सामग्री आएसँगै निर्माणले गति लिने बताइएको छ । भवन पूर्ण रूपमा भूकम्प प्रतिरोधात्मक र १२ तलाको बनाउने तयारी छ । नेपालमा हालसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिकसँगै नेपाली कला, संस्कृति झल्किने खालको हुने बताइएको छ ।

कामपासँग गरिएको सम्झौतानुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउने छन् । काम शुरु भएको पाँच वर्षभित्र स्तम्भ बनाइसक्नुपर्ने छ । स्तम्भ निर्माणको लागत रू तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ । भवनको सबैभन्दा तल्लो तलामा बस पार्किङ स्थल रहने छ ।

त्यस्तै त्यसको माथि दोस्रो तलामा हलुका गाडीको पार्किङ, व्यवस्थित चलचित्र कक्ष, पौडी पोखरी, खाजाघर, बैङ्क तथा कामपाको वडा कार्यालय समेत रहनेछ । भवनका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411