​भूकम्प र नाकाबन्दीको मारमा परेको नारायणगढ–मुग्लिन सडकखण्डको काम २१ प्रतिशत सम्पन्न

सोमबार, जेष्ठ १०, २०७३ साल,
चितवन । भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेको नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार कार्य पछिल्लो समय तीव्र गतिमा अगाडि बढाइएको छ। 
 
ठेक्का दिँदा २०७४ को वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि चार महिना १५ दिन थप गरी २०७४ को भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको छ। 
 
पछिल्लो सम्झौताको लक्ष्यअनुरुप काम भइरहेकोे नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले बताए। उनका अनुसार हालसम्म २१ प्रतिशत काम सम्पन्न भइसकेको छ । यही गतिमा काम भइरहे समयमै काम सम्पन्न हुने उनको भनाइ छ। 
 
विसं २०७२ को वैशाखबाट निर्माण कार्य थालिएको हो । काम थालेको आठ महिनामा १५ प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा आठ प्रतिशत मात्र काम भएको थियो।  गत माघ २८ गतेबाट दिउँसो ११ बजेदेखि ३ बजेसम्म सडकको आवागमन रोकेर काम भइरहेको छ । सडक फराकिलो बनाउन पहाड काटिएकाले हल्का पानी पर्ना साथै पहिरो खस्दा समस्या उत्पन्न भएको छ भने बढी सुक्खा हुँदा सुक्खा पहिरो खस्ने समस्या समेत उत्पन्न भएको खनालले बताए। 
 
भरतपुरको आँपटारीदेखि मुग्लिनसम्म सडक फराकिलो बनाउने काम भइरहेको छ । मुख्य जटिल क्षेत्र भनिएको भरतपुरबाट २७ किलोमिटर दूरीको जलविरेदेखि ३२ किलोमिटर दूरीको कालीखोलासम्मको पाँच किलोमिटर भागमा पहाड फोरेर सडक चौडा गरिँदै छ भने सडकका अन्य भागमा पनि काम तीव्र गतिमा भएको उनले बताए। पहाड काटिएको स्थानमा फेदमा तारेपर्खाल लगाइएको छ भने माथिल्लो भागमा बायो इन्जिनियरिङ भइरहेको छ । पानीले समस्या नपारे जेठ महिनाभर सडक रोकेर काम गर्ने लक्ष्य राखिएको छ। 
 
सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र मुग्लिनदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदै छ। 
 
विश्व बैंकको २ अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियन हाइबेअन्तर्गतको ए एच ४ टु खण्डअन्तर्गत नारायणगढ मुग्लिन सडकखण्ड पर्दछ । इञ्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मोजफ्रपुर हुँदै जाने यो सडक एसियन हाइबेको एक खण्ड हो। 
 
सडक निर्माण कार्यका लागि दिउँसो चार घन्टा आवागमन रोकिएसँगै ठाउँठाउँमा पहिरो खस्दा यात्रुले भने सास्ती व्यहोर्दै आएका छन् । यो सडकखण्डको ३६ किलोमिटर दूरी पार गर्न १० घन्टासम्म लाग्ने गरेको छ। पहिरो नखस्दा सहज हुने भए पनि कतिबेला पहिरो खस्छ यकिन हुन नसक्दा यात्रुले हैरानी व्यहोर्नुपरेको हो। रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411