​पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज पारिछाड्नेछुः वाणिज्य तथा आपूर्तिमन्त्री

सोमबार, कार्तिक २, २०७२ साल,
काठमाडौं । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि सरकारले कुटनीतिकलगायत सबै विकल्प खोजेर योजना तयार गरिरहेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले जनताको दैनिक जीवनमा ठूलो समस्या आएकाले आफू कार्यभार सम्हालेकै दिन गम्भीर भएर समाधानमा जुटिसकेको बताए ।
 
‘आपूर्तिमा आएको असहजताले जनता मर्कामा परेकाले म गम्भीर छु,’ नवनियुक्तमन्त्री पुनले भने,‘सबै किसिमका उपाय अबलम्बन गरेर भएपनि आपूर्ति व्यवस्था सहज पारिछाड्नेछु ।’ आफूले यति समयभित्र आपूर्ति व्यवस्था सहज हुनेबारे नबताउने तर यथाशिघ्र समस्या समाधान गरेरै छाड्ने दृढता व्यक्त गरे ।
 
भारतसँगको सीमानाकाहरुको अवरोध हटाउनेबारे सरकारले गरेको कुटनीतिक प्रयासले कस्तो परिणाम हासिल गर्दैछ भनी सोधिएको प्रश्नमा उनले हल्ला र बाहिर सुनिएका सूचनामा भन्दा यथार्थ परिस्थिति बुझेर समस्या समाधानमा सरकार गम्भीरताका साथ लागेको बताए। समस्या समाधानका लागि भइरहेका कुटनीतिक पहल सफल हुने विश्वास व्यक्त गरे । जनताले लामो समयसम्म दुःख भोग्नुनपर्ने गरी वर्तमान सरकारले पहल थालिसकेको बताए । परराष्ट्रमन्त्री कमल थापा स्वदेश फर्कनेवित्तिकै आन्तरिक छलफल गरी सरकारले आपूर्ति व्यवस्था सहज पार्नेबारे परिपक्व निर्णय लिएर अगाडि बढ्ने बताए । 
 
साक्षात्कार कार्यक्रममा एनेकपा माओवादीका प्रभावशाली नेता समेत रहेका पुनले सबै किसिमका चुनौतीहरु झेलेर भएपनि जनताको दुःखकष्ट हटाइछाड्ने बताए । दशैंको समयमा जनताले दुःख झेल्नुपरेकाले आफू गम्भीर भएको भन्दै समस्या समाधानका लागि कुनै कसर बाँकी नराख्ने बताए । उनले भने,‘सिंगो देशले भोगिरहेको समस्या समाधान गर्न सरकारले सबै विकल्प सोचेर काम अगाडि बढाउनेछ।’ भारतीय सीमानाकाको अवरोधका कारण उत्पन्न परिस्थितिको सामना गर्न चीन वा अन्य कुनै देशबाट आपूर्ति गरिनेबारे सरकारको तयारीबारे सोधिएको प्रश्नमा उनले भने,‘म अहिले मन्त्रालयमा जिम्मेवारी सम्हालेको प्रारम्भिक अवस्थामा छु। सरकारले जुनसुकै हालतमा समस्या समाधान गरिछाड्छ।’ 
 
क्लबका अध्यक्ष धमलाले मन्त्री पुनको कार्यकालको सफलताको कामना गर्दै चुनौतीपूर्ण घडीमा आएको जिम्मवारी पूरा गर्ने विश्वास व्यक्त गरे । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411