वीरगन्ज भन्सारबाट मात्रै ११ अर्ब राजस्व गुम्यो

सोमबार, कार्तिक २, २०७२ साल,
विरगञ्ज । सधैँ वहनको लामो लाम र गोलदाम भरिभराउ रहने वीरगन्ज भन्सार हाल पूरै खाली भएको छ । मधेस केन्द्रित दलको बन्द हडताल र नाकाबन्दीका कारण विगत दुई महिनादेखि नेपालका लागि वीरगन्ज नाकाबाट हुने आयातनिर्यात अवरुद्ध भएपछि नेपालको प्रमुख नाका वीरगन्ज भन्सारको यार्ड पूरै खाली भएको हो ।
 
संविधान संशोधन र सीमाङ्कनको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भदौ ३० गतेदेखि बन्द हडताल र असोज ७ गतेदेखि नाकाबन्दी गरेपछि नेपालका लागि भारत तथा तेस्रो मुलुकबाट आयात हुन नसकेपछि भन्सार यार्ड पूरै खाली भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सुशील शर्माले जानकारी दिए ।
  
दलले नाकाबन्दी गर्नुअघि भारत तथा तेस्रोे मुलुकबाट आयात गरिएका मालवस्तु प्रहरी सुरक्षामा गन्तव्यतर्फ पठाएपछि भन्सार यार्ड हाल पूरै खाली भएको सूचना अधिकृत शर्माले बताए ।
 
वीरगन्जको मितेरी पुलमा मधेस केन्द्रित दलका नेता कार्यकर्ता चौबिसै घन्टा धर्ना बसेपछि आयातनिर्यात पूर्णरुपमै ठप्प भएपछि यसको नकारात्मक प्रभाव जनजीवनसँगै भन्सारको राजस्व असुलीमा सोझै परेको सूचना अधिकृत शर्माले बताए ।
  
मोर्चाले आह्वान गरेको बन्द हडताल र नाकाबन्दीका कारण दुई महिनामा ११ अर्ब राजस्व वीरगन्ज भन्सारको अवरुद्ध भएको छ । बन्द हडताल र नाकाबन्दीका कारण वीरगन्ज भन्सार कार्यालयको भदौ र असोजमा मात्र १० अर्ब ८८ करोड राजस्व असुली प्रभावित भएको सूचना अधिकृत शर्माले जानकारी दिए । भन्सार कार्यालयलाई भदौमा चार अर्ब ९१ करोड र असोजमा पाँच अर्ब ९७ करोड अवरुद्ध भएको भन्सारले जनाएको छ । 
 
भन्सार विभागले भदौमा आठ अर्ब ८२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकोमा भन्सार कार्यालयले लक्ष्यको ३९ प्रतिशत अर्थात् एक अर्ब ९९ करोड मात्र असुली गरेको छ । यस्तै असोज महिनामा विभागले सात अर्ब ७८ करोड राजस्व सङ्कलन गर्न लक्ष्य दिएकामा भन्सार कार्यालयले लक्ष्यको २५ प्रतिशत अर्थात् एक अर्ब ९९ करोड मात्र राजस्व असुली गरेको सूचना अधिकृत शर्माले जनाए ।
 
वीरगन्ज रक्सौल नाकामा मधेसी दलले नाकाबन्दी गरेयता कार्यालयको दैनिक राजस्व असुली दर औसतमा २० देखि २२ हजारमा झरेको छ ।
 
सीमा नाकामा आन्दोलनकारीले नाकाबन्दी गरेका कारण भारत फर्कन लागेका खाली गाडी सीमा पारी जान नसकेपछि भन्सार यार्डमा थन्किएर बसेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मित्रलाल रेग्मीले बताए ।
 
उनले दुई महिनाको बन्दका कारण राजस्व असुलीमा आएको कमीले आर्थिक वर्षकै राजस्व सङ्कलनको लक्ष्यसमेतलाई प्रभावित गर्ने दाबी गरे । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411