​इन्धनका ६५ बढी गाडी नेपाल भित्रिए, आइओसीले मागे जति तेल दिन थाल्यो, कहाँ–कति ?

सोमबार, असोज २५, २०७२ साल,
काठमाडौं, असोज २५ । भारतले सीमा नाकाहरुमा लगाउँदै आएको अघोषित नाकाबन्दी खुकुलो पार्दै लगेको छ । नेपालीहरुको प्रमुख चाड दसैं घरदैलोमा आइसक्दासमेत नाकाबन्दी कायम रहेकोमा सोमबारदेखि नाकाहरु खुकुलो पारेपछि सर्वसाधारण आशावादी बनेका छन् ।

प्रमुख भन्सारनाका वीरगन्जबाहेक सबै नाका भएर सोमबार मालसामानका कन्टेनर र पेट्रोलियम पदार्थका गाडीहरु नेपाल प्रवेश गरेका छन् ।

सुनौलीबाट १०५ मालबाहक गाडी भित्रिए
एक सातादेखि ठप्प बनेको रुपन्देहीको सुनौली–बेलहिया नाका भएर सोमबार मध्याह्नदेखि मालबाहक कन्टेनर, पेट्रोलियम पदार्थका ट्यांकर र ग्यास बुलेटका गाडीहरु नेपाल भित्रन सुरु भएका छन् ।

स्थानीय प्रशासनले सीमा क्षेत्रबाट प्रदर्शनकारीलाई हटाएर भारतीय प्रशासनलाई सुरक्षाको प्रत्याभूति दिलाएसँगै मालबाहक सवारी–साधनहरु नेपाल भित्रन सुरु भएका हुन् ।

सोमबार साँझ ७ बजेसम्म यो नाका भएर १ सय ५ ओटा मालबाहक कन्टेनर नेपाल भित्रिएका छन् । यसमा दुईओटा पेट्रोल, दुईओटा डिजल, तीनओटा ग्यास बुलेट र चारओटा अक्सिजन बोकेका गाडीसमेत नेपाल भित्रिएको भन्सार कार्यालयले जानकारी दिएको छ । भारतबाट मालबाहक सवारीहरु भित्रिनेक्रम जारी नै रहेको छ ।

गत असोज १८ गते नाकामा प्रहरी र आन्दोलनकारीबीच झडप भएपछि यो नाका ठप्प भएको थियो ।

काँकडभिट्टाबाट ८० मालबाहक गाडी आए
पूर्वी नाका काँकडभिट्टाबाट पनि मालबाहक कन्टेनरहरु नेपाल भित्रनेक्रम जारी छ । सोमबार साँझ ७ बजेसम्म यो नाका भएर ८० ओटा मालबाहक गाडीहरु नेपाल भित्रिएका छन् । यस्तै, यो नाका भएर डिजलका ९ ओटा, दुईटा ग्यास बुलेटका गाडीसमेत नेपाल भित्रिएका छन् ।

यस्तै, सोमबार रातिसम्ममा यो नाका भएर २१ ओटा पेट्रोलको गाडी नेपाल भित्रने भन्सार कार्यालयले जनाएको छ । अन्य सामाग्रीहरु भने नेपाल भित्रनेक्रम जारी रहेको मेची भन्सारका प्रवक्ता दीपेन्द्रकुमार झाले जानकारी दिए ।

विराटनगरबाट कुनै मालबाहक आएन
विराटनगरको रानी भन्सारबाट भने सोमबार कुनैपनि मालबाहक गाडीहरु नेपाल भित्रिएका छैनन् । भारतको विहारमा भएको विधानसभा चुनावका कारण भारतले सामान बोकेका कुनैपनि गाडीलाई सोमबार यो नाकाबाट नछाडेको हो ।

रुपैडिहाबाट ६४ मालबाहक गाडी भित्रिए
बाँकेको रुपैडिया–जमुनाहा नाका भएर सोमबार साँझसम्ममा ६४ ओटा मालबाहक कन्टेनर नेपाल भित्रिएका छन् ।

भित्रिएका कन्टेनरमा कच्चापदार्थ, खाद्यान्न, लताकपडा, आलु, प्याज, फलफूललगायतका छन् । यो नाका भएर सोमबार हवाई इन्धन, ग्यास र पेट्रोल बोकेका गाडीहरु भने नेपाल भित्रिएनन् ।

भारतको गोन्डा डिपोमै पेट्रोल नभएपछि नेपालबाट गएका ट्यांकरहरु उतै थन्किएका जनाइएको छ ।

यो नाका भएर सोमबार २७ ओटा डिजलका ट्यांकर भने नेपाल प्रवेश गरेको आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ ।

आइओसीले भने जति तेल दियो
नाकाबन्दीपछि पहिलोपटक इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमले भने जति पेट्रोलियम पदार्थ उपलब्ध गराएको छ ।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले भारतको शाहजहापुरको बनथरा डिपोमा पठाएका ३० ट्यांकरमध्ये २२ ओटा टयांकरमा तेल भरेर पठाएको हो ।

सोमबार धनगढी डिपोबाट नेपाल भित्रिएकोमा २० ओटा डिजलका ट्यांकरमा र दुई ओटा पेट्रोलको ट्यांकर रहेका छन् ।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले सोमबार थप २० ओटा ट्यांकर शाहजहापुरको बनथरा डिपोमा पठाएको छ । यो नाका भएर अन्य मालबाहक कन्टेनर भने आउनेक्रम जारी छ ।

वीरगन्ज ठप्पै
देशको प्रमुख व्यापारिक वीरगन्ज भन्सारनाका भने १९ दिनदेखि ठप्प नै छ । भारतले नेपालमा भएको मोर्चाको प्रदर्शनलाई देखाउँदै यो नाकाबाट गाडीहरु नेपाल प्रवेश गराएको छैन ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411