काठमाडौंमा भेटिएको मिथेन ग्यास खानी

सोमबार, असोज २५, २०७२ साल,
काठमाडौं । इन्धन हाहाकारले देश तरंगित रहेको बेला उपत्यकाकै जमिनमुनि खाना पकाउन उत्तम मानिएको मिथेन ग्यास प्रचुर मात्रामा देखिएको छ। यसबारे कौतुहलता बढेको छ। कसरी कम लगानीमार्फत यसको उपभोग गर्न सकिन्छरु वा ‘आकाशको फल आँखा तरी मर’ भन्ने उखानजस्तै हुने हो कि भन्ने चिन्ता पनि छ। 
 
उपत्यकामा २०२० सालमा भारतको टोलीले, २०३० मा चिनिया टोलीले, २०३४ मा जापानले र पछि युएनडिपीको सहयोगमा नेपाल सरकारले पाँच वर्षे योजना संचालन गर्दै २०४१ मा गरेको अध्ययनले ठूलो परिमाणमा मिथेन ग्यास रहेको देखाएको थियो।
 
टेकुदेखि मनहरासम्म ९२६ किलोमिटर क्षेत्रफलमा० करिब ३१ करोड घन मिटर मिथेन ग्यास रहेको सो टोलीले प्रतिवेदन दिएको थियो। अध्ययन नगरिएको भूभागमा पनि मिथेन ग्यास निस्किरहेको पाइएको छ। तसर्थ थप मात्रामा अझै ग्यासको भन्डार हुन सक्ने विज्ञहरुले औंल्याएका थिए।
 
भूगर्व तथा खानी विभागले प्राकृतिक ग्यास उत्खननका लागि छुट्टै शाखामार्फत काम गरिरहेको भने पनि प्राथमिकता साथ काम गर्न सकिरहेको भने छैन। आर्थिक अभाव, साधन स्रोतको अपर्याप्तता र टेन्डरमार्फत बोलकबोल गरी काम गर्न चाहने संस्था फेला नपर्दा यस कार्यले गति लिएन। सरकारको प्राथमिकताभित्र पनि यो पर्न सकेन। फलस्वरूप दसकौँदेखि थन्किएरै रहेको छ ।
 
समस्याको प्रमुख कारण एलपीजी ग्यासजस्तै मिथेन ग्यास सिलिन्डरमा भर्न नसक्नु र पाइप लाइनमार्फत उपभोक्ताका घर-घरसम्म पुर्‍याउनु ठूलो चुनौती छ। ग्यास चुहावट भए भौतिक तथा मानवीय दुर्घटनाको जोखिम पनि हुने भएकाले खानीदेखि उपभोक्ताको भान्सासम्म सहजरुपले ग्यास पुर्‍याउन असमर्थ रहेको भूगर्व तथा खानी विभागको भनाइ छ।
 
तर थर्मल प्लान्टसमार्फत् बिद्युत उत्पादन गर्ने प्रयोजनका लागि ७२ वटा कुवा बनाई विद्युत उत्पादन गर्न भने सकिने अवधारणा आएको सम्बन्धित पक्षहरुको भनाइ छ। सीमित समयका लागि मात्र यसरी कुवा खनी बिजुली बनाउनु पनि आर्थिकरुपले त्यति मितव्ययी देखिँदैन।
 
मिथेन रंगहीन र गन्धहीन ग्यास हुन्छ। सबैभन्दा ठूलो कुरा यो पर्यावरणप्रिय छ। अर्थात् यसले प्रदुषण हुँदैन। तेल इन्धनसँगै एलपीजी ग्यासजस्तै उपत्यकामा रहेको मिथेन पानीसँग रहेको छ। यो ग्याससँगै पानी पनि निकालिने भएकाले शुद्धिकरण गरी पानी पनि बिक्रि बितरण गर्न सकिने देखिन्छ। यसरी निकालिएको मिथेनको मूल्य बजारमा उपलब्ध भइरहेको एलपीजीकै हाराहारीमा रहने जनाइएको छ।
 
उपत्यकामा रहेको भनिएको मिथेन ग्यासले २० हजार परिवारलाई ३० बर्षसम्म इन्धन पुग्ने प्रतिवेदन दिइएको थियो। यसरी प्रति परिवारमा ५ जना छन् भनी मान्दा प्रतिदिन १ लाख जनालाई ३० वर्षको लागि पकाउने इन्धन पुग्ने देखिन्छ। अझ ग्यासको उत्पादन बढाएर, मानौँ १० वर्षमै हामी सो इन्धन प्रयोग गर्न चाहन्छौँ भने प्रतिदिन ३ लाख जना काठमाडौंबासीलाई १० वर्षसम्म पकाउने प्रयोजनको लागि इन्धन पुग्ने देखिन्छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411