आइओसीले तेल भर्न बोलायो, निगम निकालेको ग्लोबल टेन्डर पनि चासो

आईतवार, असोज २४, २०७२ साल,
काठमाडौं  । इन्डियन आयल कर्पोरेशन (आइओसी) को मुख्यालय मुम्बईले शनिबार आयल निगमलाई टेलिफोन गरेर आइतबार रक्सौल बाहेकका डिपोमा पेट्रोलियम ट्यांकर पठाउन आग्रह गरेको छ।

आइओसीको ट्याङ्कर पठाउन आग्रह गरेपनि तेल भरेर नपठाएसम्म विश्वास गर्न नसकिने आयल निगमका अधिकारीहरु बताउँछन्। आइओसीले शनिबार हामीलाई टेलिफोन गरेर आइतबार भएपनि डिपो खोलेर तेल दिने जानकारी दिएका छन् ।  ‘हामीले पठाएको ट्यांकरमा तेल भरेर नेपाल नआएसम्म केही विश्वास गर्न सकिदैन।’

बरौनी, सिलगुढी, गुन्डा र वेतालपुरमा ट्यांकर पठाउन आइओसीले आग्रह गरेको छ। निगम स्रोतका अनुसार शनिबारनै आइओसीले लोडिङ बढाएर दिएका थिए। निगम उच्च स्रोतका अनुसार आयल निगमले पेट्रोलियम पदार्थ आपूर्तिमा टेन्डर आह्वान गरेपछि आइओसी लचिलो भएको हो।

‘नेपाल–भारतवीचको राजनीतिक सम्बन्धमा कुनै सुधार भएको देखिएको छैन। आइओसीले नेपालको व्यापार गुमाउन नचाहेकोले केही लचिलो भएर तेल दिएको हुनसक्छ,’ स्रोतले भन्यो, ‘हामीले स्वदेश र विदेशका कम्पनीलाई तेल ल्याउन आह्वान गर्नेवित्तिकै उनीहरु आत्तिएका छन्।’ आयल निगमसँग आइओसीको १ खर्ब ३० अर्बको व्यापार छ। आइओसीका लागि नेपालसँगको व्यापार सबैभन्दा ठूलो हो।

आयल निगमले निकालेको ग्लोबल टेन्डरमा समेत आइओसीले चासो राखेको छ। स्रोतका अनुसार आइओसीका अधिकारीले शनिबार टेलिफोन गरेर टेन्डरमा आफु पनि सहभागी हुने जनाएको थियो। ‘आइओसी आफ्नो व्यापार सुरक्षित गर्न ग्लोबल टेन्डरमा समेत सहभागी हुने इच्छा देखाएको हुनसक्छ,’ स्रोतले भन्यो, आइतबारसम्म उनीहरुले पनि टेन्डर भरे भने थाहा हुन्छ।’

भारतले नाकाबन्दी लगाएपछि आइओसीले माग भन्दा १० प्रतिशत मात्रै तेल दिँदै आएको छ। भारतीय दूतावासको चासो आयल निगमले ग्लोबल टेन्डर आह्वान गरेपछि भारतीय दूतावासले चासो देखाउँदै नियमित रुपमा सूचना लिइरहेको स्रोतले बतायो। स्रोतका अनुसार दूतावासले कुन, कुन कम्पनीले टेन्डर भरे भनेर जानकारी लिएको हो। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411