​तेल ट्यांकरबाट तेलको ढुवानी गरी अर्बपति

सोमबार, असोज १८, २०७२ साल,
एजेन्सी । विश्वका सर्वाधिक धनाढ्य सय जनाको सूचीमा परेका आठ व्यक्ति यस्ता पनि छन्, जसको पारिवारिक पृष्ठभूमि त्यति राम्रो छैन । औसत मानिससँग तुलना गर्न नसकिने खालका छन् । ती आठै जनाको सुरुको जीवन अत्यन्तै कष्टप्रद थियो । केहीसँग त कलेजको कुनै डिग्री नै छैन ।

तर, आज अथक परिश्रम, लगन र संघर्षले उनीहरू विश्वकै अर्बपतिमा दरिएका छन् । तीमध्येका एक हुन्, जोहन फ्रेड्रिक्सेन । उनी एक जना वेल्डरका छोरा हुन् । पिताको पेसा छाडेर अलग्गै व्यवसायबाट उनी विश्वको धनाढ्य बनेका हुन् । नर्वेमा जन्मेका उनी पछि साइप्रसको नागरिकता लिए ।

हाल उनी बेलायतको लन्डनमा बस्छन् । आफैले सञ्चालन गरेको ढुवानी व्यवसाय, उनको सम्पत्तिको प्रमुख स्रोत हो । हुन त उनको अन्य व्यापार, व्यवसाय पनि समानान्तर रूपमा चलिरहेकै छ । तर, धनाढ्य बन्ने मुख्य स्रोत तेल खरिद र बिक्री नै हो ।

फोब्र्स अखबारका अनुसार हाल उनको कुल सम्पत्ति ९ दशमलव ५ अर्ब अमेरिकी डलर रहेको छ । सन् २०१५ को अर्बपति सूचीमा उनी १२० औं र साइप्रसमा पहिलो स्थानमा छन् । साइप्रसको नागरिकता लिनुभन्दा अघिसम्म उनी नर्वेका अर्बपति थिए ।

सन् १९४४ मे १० मा नर्वेको ओस्लोमा जन्मेका हुन्, उनी । हाल उनको परिचय परिवर्तन भएको छ । धेरैले उनलाई आयल ट्यांकर ‘टाइकुन’ का रूपमा चिन्छन् । विश्वकै सर्वाधिक आयल ट्यांकरहरूका मालिक जोहन फ्रेड्रिक्सेनले त्यो व्यवसायसँगै अन्यमा पनि बिस्तारै हात हालेर सफल हुँदै गएका छन् ।

तर, अहिलेको अवस्थामा पुग्न उनलाई ट्यांकरले महत्त्वपूर्ण सहयोग रह्यो । खासगरी सन् १९८० ताका इरान–इराक युद्धले त उनको भाग्य नै चम्काइदियो । त्यसताका उनको ट्यांकरहरूले ठूलो जोखिम मोलेर तेल ढुवानी गर्थे । त्यसबाट उनलाई मनग्ये आम्दानी पनि भयो । आम्दानी बढेसँगै तेल ट्यांकर पनि थप्दै गए । त्यसताका उनीसँग ७० भन्दा बढी ट्यांकर थिए ।

वातावरणीय दृष्टिले उनको ट्यांकर सबैभन्दा सुरक्षित ठानिन थालिएपछि तेल व्यापारीहरूले उनकै ट्यांकरमार्फत ढुवानी गर्ने गर्थे । फलस्वरूप महँगो शुल्क लिएर तेल ढुवानी गर्न थाले, एक ‘सिपिङ टाइकुन’ बन्न पुगे । अन्य कम्पनीहरूको सञ्चालनले उनको आर्थिक अवस्था झनै राम्रो बन्दै गयो ।

खासगरी आफैंले खोलेको ‘मेइसा’ कम्पनीबाट उनले राम्रै आम्दानी गरे । उनी तेल व्यापारी पनि कहलिए । तेल खरिद गर्ने र बेच्नसमेत थाले । उनले एकताका भनेका थिए, ‘मैले तेल खरिद गर्नु र बेच्नु कानुनी हो या गैरकानुनी, थाहा छैन किनभने तेलको व्यापार गर्ने म कुनै विज्ञ होइन, त्यसैले म यसमा समस्या देख्दिनँ ।’ ब्लुम्बर्ग मार्केटस म्यागेजिनले सन् २०१२ मा उनलाई ५० जना सर्वाधिक शक्तिशाली व्यक्तिहरूको सूचीमा सूचीकृत गरेको थियो । उनले सिप ब्रोक्रिङ कम्पनीमा प्रशिक्षार्थीका रूपमा काम सुरु गरेका थिए । २७ वर्ष उमेरमा उनले आफ्नै ट्यांकर व्यवसाय सुरु गरेका थिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411