​राजकर्णिकार उद्योग वाणिज्य महासंघको विशिष्ट सदस्यमा मनोनित

सोमबार, असोज १८, २०७२ साल,
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिले भास्करराज राजकर्णिकारलाई विशिष्ट सदस्यमा गरिएको मनोनयनलाई अनुमोदन गरेको छ।

पूर्व वरिष्ठ उपाध्यक्ष राजकर्णिकार यसअघि महासंघको अध्यक्ष पदमा पराजित भएका थिए। दुई वर्षअघि भएको महासंघको महाधिवेशनमा राजकर्णिकार प्रदीपजंग पाण्डेसँग अध्यक्षमा पराजित भएका थिए। फौजदारी अभियोगमा पाण्डेको पद खारेज भएपछि भएको विशेष साधारण सभामा अध्यक्षमा उम्मेदवारी दिएका उनले पछि फिर्ता लिएका थिए।

महासंघको बैठकले अर्का उद्यमी कुमुदकुमार दुगडलाई कार्यकारिणी समिति सदस्य पदमा भएको मनोनयनलाई पनि अनुमोदन गरेको छ। दुगड राजकर्णिकारले वरिष्ठ उपाध्यक्षमा चुनाव जित्दा उनीसँग पराजित भएका थिए। 

महासंघको कार्यकारिणी समितिको बैठकले तराईमा जारी आन्दोलनले मुलुकको अर्थतन्त्रमा गम्भीर असर पारेको भन्दै अर्थतन्त्रलाई दुर्घटनाबाट जोगाउन पनि सरकार तथा राजनीतिक दलहरुलाई आग्रह गरेको छ। महासंघले राहतको प्याकेज दिन पनि सरकारसँग माग गरेको छ।

तराई आन्दोलनका क्रममा भएको मानवीय एवं आर्थिक क्षतिप्रति दुःख व्यक्त गर्दै जारी आन्दोलनको अन्त्य गर्ने सम्बन्धमा सरकार र आन्दोलनरत दलहरु बीच वार्ताको वातावरण बनेकोमा महासंघले स्वागत पनि गरेको छ। 

त्यस्तै ४ वटा नगर उद्योग वाणिज्य संघहरुलाई नगरस्तरीय उद्योग वाणिज्य संघको सदस्यता, ४ वटा वस्तुगत संघहरुलाई वस्तुगत संघको सदस्यता र १६ वटा विभिन्न उद्योग प्रतिष्ठानहरुलाई महासंघको एसोसिएट सदस्यता प्रदान गर्ने निर्णय बैठकले गरेको महासंघले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411