​१ अर्ब लगानीसहित शारडा ग्रुप मदिरा उद्योगमा प्रवेश

सोमबार, असोज १८, २०७२ साल,
काठमाडौं । औद्योगिक घराना शारडा गु्रपले मदिरा उत्पादनमा पनि लगानी गरेको छ । ग्रुपले १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा विराटनगरमा प्रिमियम अर्गानिक्स प्रालिमार्फत विभिन्न ब्रान्डमा मदिरा उत्पादन तयारी गरेको हो ।

खाद्यान्न, सिमेन्ट, केबल, प्लास्टिक, कार्पेट, तेललगायत उत्पादन गरिरहेको कम्पनीमार्फत मदिरा उत्पादन गर्न लागेको हो । ग्रुपका निर्देशक गौरव शारडाले मदिरा उत्पादनका लागि अन्तिम चरणमा रहेको बताए । ‘हामीले बजारमा डिस्टिलरीमार्फत विभिन्न उत्पादन ल्याउने योजना बनाएका छौँ । उद्योगमा सबै काम सकिइसकेको छ, अब उत्पादन गरी बजारमा पठाउने मात्र काम हो,’ उनले भने ।

राजनीतिक अस्थिरताका कारण आफ्ना उत्पादन कहिलेदेखि बजारमा पठाउने भन्ने अन्योल रहेको उनको भनाइ छ । अहिले बन्दहडताल, मजदुर समस्या पनि छ, त्यसैले उत्पादन गरी कसरी बजारमा पठाउने भन्ने समस्याले रोकिएको उनले बताए । ‘तराईमा देखिएको अस्थिरता हट्नासाथ हाम्रो उत्पादन बजारमा आउँछन्,’ उनले भने ।

आफ्नो बोटलिङ प्लान्टमा भोड्का, ह्स्विकी, रमलगायत उत्पादन हुने भए पनि सुरुमा भोड्काबाट उत्पादन थालिने उनले बताए । ‘जति ढिलो भए पनि दसैँअगाडि उत्पादन गरी बजारमा ल्याउने हाम्रो योजना छ, सोहीअनुसार काम भइरहेको छ,’ उनले भने । कम्पनीले यसपछि डिस्टिलेसन गरेर बोटलिङमार्फत स्प्रिट उत्पादन गरेर अन्य प्रडक्ट पनि बजारमा ल्याउने जनाएको छ ।

‘आगामी माघभित्र हामी स्प्रिट उत्पादन थाल्छौँ,’ उनले भने, ‘ठूलो क्षमताको ग्रिनबेस्ड उद्योगका रूपमा आउन खोजिरहेका छौँ, नेपालमा मदिरा ब्रान्ड आउने–जाने गरिरहेको अवस्थामा दीर्घकालीन योजना लिएर आएका हौँ,’ शारडाले भने । नेपालमा विभिन्न विदेशी ब्रान्ड प्रयोग भइरहे पनि दीर्घकालीन नभएकाले प्रिमियम ब्रान्डमा आउन लागेको उनले जानकारी दिए ।
‘अहिले ठूलो परिमाण डिस्टिल्ड मदिरा आयात भइरहेको छ, तर नेपालमा यसको उत्पादनका लागि कच्चा पदार्थ पर्याप्त छ, त्यसैले आफैँ उत्पादन गरेर विभिन्न ब्रान्डमा बजार उपस्थिति जनाउँछौँ,’ उनले भने ।

‘हामीकहाँ मकै पर्याप्त छ, डिस्टिलेसन गरेर स्प्रिट उत्पादन गरेपछि विभिन्न प्रडक्टको बोटलिङ गर्ने योजनामा डिस्टिलरी स्थापना गर्ने निर्णय गरिएको हो,’ उनले भने । स्प्रिट उत्पादनपछि अन्य डिस्टिलरीलाई पनि बेच्न सकिने उनको भनाइ छ ।

विराटनगरमा रहेको उद्योगमार्फत उत्पादन हुने मदिरा एकैचोटि मुलुकभर पुर्‍याउने लक्ष्य कम्पनीले राखेको छ । नयाँ लगानीका रूपमा डिस्टिलरीमा कम्पनीले लगानी बढाएको ग्रुपका निर्देशक शारडाले बताए ।

‘डिस्टिलरी नाम राख्नेबित्तिकै रक्सी मात्र बनाउँछ भन्ने सोच हुन्छ । तर, हामी रक्सी मात्र उत्पादन गर्दैनौँ । विभिन्न वस्तु उत्पादन गर्छौं,’ उनले भने ।

आफ्नै ब्रान्ड लिएर आउने योजना नभए पनि नेपालमा मदिरा आयात परिमाण ठूलो भएकाले केही मात्रामा भए पनि आयात प्रतिस्थापन गर्न कम्पनी स्थापना गर्न लागिएको उनले जानकारी दिए । ‘६ महिनाको तयारीपछि बजारमा आउँदै छौँ, राम्रो ब्रान्ड लिएर बजारमा उपस्थिति जनाउँछौँ,’ उनले भने । डिस्टिलेसन मात्रै गरेर नाफा नहुने हुँदा बोटलिङ गरेर ब्रान्डमा आउने योजना बनाइएको उनको भनाइ छ ।

ग्रुपले चिनको होङसी ग्रुपसँग नेपालमा ठूलो लगानीमा सिमेन्ट उद्योग पनि स्थापना गर्न लागेको छ ।

४० अर्ब लगानीमा स्थापना हुन लागेको उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिइएको छ । सिमेन्टमा पनि आयात बढेको हुनाले त्यसलाई प्रतिस्थापन गर्न ठूलो लगानी भित्र्याउन लागिएको कम्पनीले जनाएको छ । नयाँपत्रिकाबाट

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411