​माथिल्लो त्रिशूली थ्री बीको क्षमता घटाउन नहुनेमा जोड

शुक्रबार, असोज १५, २०७२ साल,
काठमाडौं । नेपाल बिद्युत् प्राधिकरण र नेपाल टेलिकमले संयुक्तरुपमा अगाडि बढाउन लागेको माथिल्लो त्रिशूली थ्री बी जलबिद्युत् आयोजनाको क्षमता घटाउन नहुनेमा जोड दिइएको छ । प्राधिकरण र टेलिकमले सो आयोजनाको क्षमता ४२ मेगावाट नै बनाउनुपर्नेमा जोड दिएको छ ।

ऊर्जा मन्त्रालय र बिद्युत् विकास विभागले भने सो आयोजनाको क्षमता ३७ मेगावाट मात्रै बनाउने गरी निर्देशन दिएको छ ।

एक निजी जलबिद्युत् कम्पनीलाई सो आयोजना नजिकै बिद्युत् उत्पादनको अनुमतिपत्र दिएकाले क्षमता घटाउन बाध्य भएको आयोजना प्रमुख दामोदरभक्त श्रेष्ठको भनाइ छ ।

बिद्युत् विकास विभागबाट २०७० साल असोज २२ गते उत्पादन अनुमतिपत्र दिँदा भौगोलिक क्षेत्र सर्वेक्षण अनुमतिपत्रमा नै उल्लेख गरिएको भएपनि हाल सो क्षेत्र परिवर्तन गर्न खोजिएको भन्दै विभिन्न कर्मचारी सङ्घ तथा सङ्गठनले आपत्ति जनाएका थिए ।

माथिल्लो त्रिशूली थ्री ए जलबिद्युत् आयोजनाबाट निकास भएको पानी (टेल वाटर)बाटै बिद्युत् निकाल्ने तयारी गरिएको छ । नुवाकोटको मनकामना गाविस–७ र ९ मा सो आयोजनाको बिद्युत् गृह निर्माण गर्ने लक्ष्य राखिएको छ । तर बिद्युत् विकास विभागले सो आयोजनाको बिद्युत् गृह नजिकै परफेक्ट इनर्जी डेभलपमेन्टलाई अनुमतिपत्र प्रदान गरेको छ । सो आयोजनाको क्षमता ५४ मेगावाट रहेको छ ।

सो आयोजनाका आयोजना प्रमुख श्रेष्ठले बिद्युत् उत्पादन अनुमति प्रदान गर्ने सन्दर्भमा गरिएको गलत निर्णयका कारण आयोजनाको क्षमता र बिद्युत् गृह सार्नुपर्ने अवस्था आएको बताए ।

नेपाल बिद्युत् प्राधिकरण र नेपाल टेलिकमले संयुक्तरुपमा लगानी गर्ने सो आयोजनालाई अगाडि बढाउनुको साटो निजी प्रवद्र्धकलाई बढी सुविधा दिन लागिएको भन्दै सङ्घ तथा सङ्गठनले आपत्ति जनाएका छन् ।

कुल रु आठ अर्ब लागतमा निर्माण हुने सो आयोजनालाई तामाकोशी जलबिद्युत् आयोजनाजस्तै गरी अगाडि बढाउन लागिएको छ । निजी प्रवद्र्धकलाई बढी सुविधा दिन खोज्दा प्राधिकरणले वार्षिक रु २२ करोड घाटा लाग्ने आयोजना प्रमुख श्रेष्ठको भनाइ छ ।

प्राधिकरण र टेलिकमका कर्मचारी सङ्गठनले आयोजनालाई बिना अवरोध अगाडि बढाउन ध्यानाकर्षण गराएका हुन् । परियोजनाको क्षमता घट्दा प्राधिकरण र लगानीकर्तालाई ठूलो मात्रामा घाटा हुने भएकाले पूरानै क्षमताअनुसार निर्माण हुन दिनुपर्ने नेपाल बिद्युत् प्राधिकरण कर्मचारी सङ्घका अध्यक्ष जनार्दन भट्टराईको भनाइ छ ।

उनले आयोजनाको क्षमता घटाउने विषय कुनै पनि हालतमा मान्य नहुने भएकाले त्यसलाई सच्याउनुपर्ने आफ्नो मागमा कायमै रहेको बताए । “क्षमता घटाउँदा लागत पनि घट्ने भए पो, लागत चाहि उत्तिनै रहने, क्षमता घटाउने कुरा सह्य हुँदैन” उनले भने ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष खगेन्द्र शाहीका विचारमा गाइ मारेर गधा पोस्ने काम कुनै अर्थमा सह्य हुन सक्दैन । सार्वजनिक, निजी साझेदारीमा अगाडि बढाउन लागिएको आयोजनामा नुवाकोट र रसुवाका सबै गाविस तथा नगरपालिकाले पनि लगानी गर्ने भएका छन् । प्रतिगाविस रु १० लाखदेखि रु १२ लाखसम्म सेयर लगानी गर्नेगरी कार्यविधि तयार गरिएको छ ।

“एउटा आयोजना रहँदारहँदै अर्को आयोजनालाई अनुमतिपत्र दिँदा नै गल्ती भइसकेको छ । हामीले गल्ती सच्याउन पटक–पटक आग्रह ग¥यौँ, तर हाम्रो आग्रह सुनुवाई भएको छैन । सबैको साथ र सहयोग प्राप्त भए क्षमता अझै पनि बढाउन सक्ने स्थान छ । हामी त्यसका लागि प्रयत्नशील छौँ ।” आयोजना प्रमुख श्रेष्ठले भने ।

आयोजना अगाडि बढाउनका लागि हाल जग्गा किन्ने काम भएको र नेपाल दूरसञ्चार कम्पनीले रु १२ करोड लगानी गरिसकेको छ । सेयर सङ्कलनका लागि गाविस, जिविस र नगरपालिकालाई आवश्यक पत्राचार गरिसकिएको तथा भवन निर्माणको काम सुरु भइसकेको छ ।

यस्तै आयोजना स्थल प्रवेश गर्ने सुरुङ निर्माणको काम सुरु भइसकेको छ । परामर्शदाता इलेक्ट्रो कन्सल्ट इटालीले काम सुरु गरिसकेको श्रेष्ठले बताए ।

आयोजनाले निर्माण सुरु गर्नका लागि ठेकेदार नियुक्तिको आवश्यक प्रक्रिया अगाडि बढाएको र त्यसका लागि विभिन्न १३ वटा चिनियाँ, भारतीय, इरानी कम्पनीले चासो देखाएका छन् ।  रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411