​सरकारी सहुलियत मूल्य नै महँगो भएपछि चामल बिक्री हुनै छाड्यो

शुक्रबार, भाद्र ११, २०७२ साल,

ताप्लेजुङ । बजार मूल्यभन्दा महँगो भए पछि ताप्लेजुङमा रहेको खाद्य संस्थानको चामल बिक्री अघिल्लो आवको तुलनामा झन्डै ६० प्रतिशतभन्दा बढीले घटेको छ। 
 
संस्थानको शाखा कार्यालय ताप्लेजुङका अनुसार आव २०७०/७१ मा दुई हजार ९०१ क्विन्टल चामल बिक्री भएकामा गत आवमा एक हजार २५८ क्विन्टलमा झरेको छ । 
 
कार्यालयका प्रमुख जीतबहादुर तुम्बापोले बजार मूल्यभन्दा केही महँगो हुनु, यातायातको सुविधाले उपभोक्ताले गाउँघरमै चामल किन्न पाउनु जस्ता कारण खाद्य संस्थानको चामल बिक्रीदर घटेको बताए। उनका अनुसार आव २०७०/७१ मा चामल बिक्रीबाट खाद्य संस्थान शाखाले रु एक करोड चार लाख ४३ हजार ८६० सङ्कलन गरेको थियो । चालु आवमा कुल रु ५१ लाख ९५ हजार ७२५ बराबरको मात्र चामल बिक्री भएको तुम्बापोले जानकारी दिए। 
 
यस्तै आव २०७१/७२ मा बिक्री नभएको ९९५ क्विन्टल चामललाई चालु आवमा बिक्री गरी सक्ने कार्यालयको लक्ष्य छ । खाद्य संस्थानको शाखा कार्यालयसँग चालु आवमा आयात भएको एक हजार ९९३ र अघिल्लो ९९५ गरी कुल दुई हजार ९८८ क्विन्टल चामल मौज्दात रहेको छ । “चामल बिक्रीको पछिल्लो अवस्था हेर्दा चालु आव पनि सन्तोषजनक देखिँदैन,” तुम्बापोले भने। 
 
खाद्य संस्थानले बिक्री गर्ने चामलको मूल्य प्रतिकेजी रु ४१ रहेको छ । सोही चामलको खुल्ला बजार मूल्य प्रतिकेजी रु ३८ मात्र छ । यसरी बजार मूल्यभन्दा संस्थानले बिक्री गर्ने चामलको मूल्य प्रतिकिलो रु तीनले महँगो देखिएको छ । प्रतिस्पर्धात्मक बजारमा मूल्य दाँजेर लिने उपभोक्ता भाउ सोध्दै फर्कने गरेको शाखाले जनाएको छ । रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411