​जलविद्युतको जिल्ला बन्दै लमजुङ, १५७ मेगावाटका ६ आयोजना निर्माणधिन

बिहीवार, भाद्र १०, २०७२ साल,
छविलाल बगाले
लमजुङ । जलविद्युत्को धनी जिल्ला लमजुङमा अहिले ६ आयोजना निर्माणाधीन छन् । यी सबै आयोजनाको जडित क्षमता १५७ मेगावाट छ । राज्यले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइरहेका बेला लमजुङ पनि त्यतिबेलासम्म १ हजार मेगावाट उत्पादन गर्ने तयारीमा छ ।

कुनै बेला अत्यधिक बन्द–हड्ताल गरी जलविद्युत् आयोजना निर्माणमा अवरोध गर्न खोज्नेहरू यतिबेला कसरी जिल्लामा लगानीमैत्री वातावरण बनाउन सकिन्छ भन्नेमा लागिपरेको लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं मोडल इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष भेषबहादुर पौडेल बताउँछन् ।

जिल्लामा ४ वर्षदेखि ठूला–साना जलविद्युत् आयोजना निर्माण गर्ने लहर नै चलेको छ । यहाँ ७० मेगावाटको मध्यमस्र्याङ्दी र ४ मेगावाटको खुदीको निर्माण सकिएपछि सुस्ताएको जलविद्युत् आयोजना निर्माणले पुनः निरन्तरता पाएको विज्ञहरू बताउँछन् ।

४ वर्षमा ५ मेगावाटको सिउरी र ४.४ मेगावाट क्षमताको राँधीखोलाको निर्माण सम्पन्न भइसकेको छ भने अन्य ६ आयोजना पनि निर्माण चरणमा छन् । जिल्लाका ३ करिडोरमा निर्माणाधीन यी ६ आयोजनाले ५ वर्ष्भित्र आयोजना बनाइसक्ने लक्ष्य लिएका छन् ।

अहिले मस्र्याङ्दी करिडोरमा ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’, दोर्दी करिडोरमा ४९.६ मेगावाटको सुपर दोर्दी ‘ख’, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २७ मेगावाटको दोर्दी, २ मेगावाटको छ्याङ्दी र मिदिम करिडोरमा ३ मेगावाटको मिदिमखोला (करापु) जलविद्युत् आयोजना निर्माणाधीन छन् । त्यस्तै, दोर्दी करिडोरमै लमजुङ विद्युत् विकास कम्पनी (लेड्को)ले पनि १०.३ मेगावाटको अर्को आयोजना बनाउने भएको छ ।

चीनको बहुराष्ट्रिय कम्पनी सिनो र नेपालस्थित सगरमाथा पावर कम्पनीले झन्डै ३ वर्षअघिदेखि निर्माण थालेको ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ को ९० प्रतिशतभन्दा बढी काम सकिएको छ । सन् २०१५ को अन्त्यसम्ममा सम्पूर्ण निर्माण सम्पन्न गरी उत्पादित विद्युत्लाई प्रसारणलाइनमा जोड्ने लक्ष्य छ । यतिबेला आयोजनामा विद्युत् गृह, सुरुङ, बाँध र प्रसारणलाइनको काम एकैसाथ भइरहेको छ ।

दोर्दी करिडोरमा ४९.६ मेगावाटको सुपर दोर्दी ‘ख’ र २७ मेगावाटको दोर्दीले पनि आयोजना क्षेत्रमा सडक, पुल, खानेपानी, विद्युतीकरण तथा अन्य पूर्वाधार निर्माण गरिरहेका छन् । यता सोही करिडोरमा रहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ पनि निर्माणमा जुटेको छ । आयोजनाले अहिलेसम्म २ सय मिटरभन्दा बढी सुरुङ खनिसकेको छ भने विद्युत् गृह रहने स्थानमा समेत काम अघि बढाएको प्रवद्र्धक लिबर्टी इनर्जीका फिल्ड डाइरेक्टर यादवराज मैनालीले बताए । ७० प्रतिशत कर्जा र ३० प्रतिशत प्रवद्र्धकहरूको इक्विटी लगानी रहने यो आयोजनाबाट ०७४ असोजदेखि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य छ ।

दोर्दी करिडोरमै निर्माणाधीन २ मेगावाटको छ्याङ्दीले पनि ८५ प्रतिशत निर्माण सकेको छ । २ वर्षदेखि बनाउन थालेको प्रवद्र्धक कम्पनी छयाङ्दीले यसै महिनाको अन्तयसम्ममा विद्युत् उत्पादन थाल्ने बताएको छ ।

उता, मिदिम करिडोरमा रहेको ३ मेगावाट क्षमताको मिदिमखोला (करापु) जलविद्युत् आयोजना पनि सुरुङ, बाँध र विद्युत्गृह निर्माणमा जुटेको छ । झन्डै ३ महिनादेखि प्रवद्र्धक युनियन हाइड्रोपावरले १६ महिनाभित्र काम सक्ने लक्ष्यसाथ निर्माण थालेको हो । यी ६ वटै ‘रन अफ दि रिभर’ आयोजनाको कुल लागत ३२ अर्ब रुपैयाँ छ ।
लमजुङमा मात्रै ठूला–साना आयोजना गरी २५ सयदेखि ३ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्न सकिने एक तथ्यांकले देखाएको छ ।

निर्माणाधीन आयोजना क्षमता (मेगावाट)
माथिल्लो मस्र्याङ्दी ‘ए’    ५०
सुपर दोर्दी ‘ख’    ४९.६
दोर्दी खोला    २७
दोर्दी ‘ए’    २५
छ्याङ्दी खोला    २
मिदिमखोला (करापु)    ३
जम्मा    १५६.६ मेगावाट
(स्रोतः कारोबार)

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411