नामाङ्कन र सीमाङ्कनसहितको मस्यौदा ल्याएको भए राम्रो हुन्थ्यो : राष्ट्रपति

शुक्रबार, आषाढ २५, २०७२ साल,
काठमाडौ । राष्ट्रपति डा रामवरण यादवले प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरुलाई प्रदेशको नामाङ्कन र सीमाङ्कनसहितको संविधानको प्रारम्भिक मस्यौदा जनतामा लगेको भए राम्रो हुने सुझाव दिएका छन् ।  

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार राष्ट्रपतिको उपस्थितिमा प्रमुख दलका शीर्ष नेताबीच भएको छलफलमा राष्ट्रपति डा यादवले संविधान निर्माणमा असहमति राख्ने दलहरुलाई पनि सहमतिमा ल्याउन सुझाव दिएका थिए । प्रमुख चार दलबीच भएको १६ बुँदे सहमति र संविधानसभाबाट संविधानको प्रारम्भिक मस्यौदा पारित गरी राय सुझावका लागि जनतामा लैजान लागेकामा राष्ट्रपति डा यादवले बधाई तथा शुभकामना दिएको मधेसी जन अधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिए ।  

राष्ट्रपति डा यादवले असन्तुष्ट रहेका दललाई सहमतिमा ल्याउन प्रारम्भिक मस्यौदामा केही परिमार्जन गरी नमिलेका कुरा छन् भने सम्बोधन गर्न शीर्ष नेताहरुलाई सुझाव दिएको अध्यक्ष गच्छदारले बताए । मस्यौदामा जनताको राय सुझावका लागि अझै केही दिन थप गरेको भए राम्रो हुने सुझाव दिंदै राष्ट्रपति यादवले नागरिकताका सम्बन्धमा मधेश केन्द्रित दलहरुले राखेको मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भनी चासो ब्यक्त गरेका थिए ।   

छलफलमा चारै दलका नेताले प्रारम्भिक मस्यौदामा उठेका असन्तुष्टिलाई परिमार्जन र सुधार गर्दै अघि बढ्ने आश्वस्त पारेका थिए । जनताबाट आएका प्रतिक्रिया र सुझावलाई संविधानसभा, संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति र संविधान मस्यौदा समितिमा परिमार्जन गर्दै सबैलाई सहमतिमा ल्याउने प्रयास गर्न राष्ट्रपतिलाई आश्वस्त पारेको अध्यक्ष गच्छदारले उल्लेख गरे । 

छलफलमा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार उपस्थित रहेका थिए । रासस 

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411