काठमाडौं पुर्ननिर्माणका लागि छुट्टै संयन्त्र र विकास बजेटको दुई प्रतिशत रकम माग

बुद्धबार, आषाढ ९, २०७२ साल,
काठमाडौं । सभासद्हरुले भूकम्पले क्षतिग्रस्त बनेका काठमाडौं उपत्यकाका भौतिक पूर्वाधारको पुर्ननिर्माण गर्न छुट्टै संयन्त्र बनाउन माग गरेका छन् ।

भूकम्पपछि भएको क्षति र पुर्ननिर्माणबारे ज्ञापनपत्र लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका उपत्यकाका सभासद्हरुले उपत्यकाको विकासको खाका कोर्न छुट्टै संयन्त्रको माग गरेका हुन् ।

कांग्रेसका सभासद् नबिन्द्रराज जोशी नेतृत्वमा प्रम निवास पुगेको सभासद्हरुको टोलीले आफूहरुको नेतृत्वमा सरकारी संयन्त्रका प्रतिनिधिहरु सदस्य रहने गरी उपत्यकाको विकासको खाका कोरिनुपर्ने माग गरेका हुन् ।

प्रम कोइरालालाई बुझाइएको १७ बुँदे ज्ञापनपत्रमा काठमाडौं उपत्यकाको एकीकृत विकासका लागि नागरिकहरुको समेत लगानी भएको विशेष कोष स्थापना गर्न माग गरिएको छ ।

सभासद्हरुले भूकम्पबाट ध्वस्त पुरातात्विक संरचना र मठमन्दिरहरु पुर्ननिर्माणका लागि सम्बन्धित क्षेत्रका सभासद्हरुको नेतृत्वमा पुर्ननिर्माण संयन्त्र निर्माण गर्न पनि प्रमसमक्ष माग गरेका छन् ।

‘काठमाडौं उपत्यकाको पुर्ननिर्माणमा लागि उपत्यकालाई शहरी भित्री, शहरी बाहिरी र पुरातात्विक सांस्कृतिक महत्वका तीन भागमा विभाजन गरिनु जरुरी छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘भौतिक संरचना भत्काउँदा र पुर्ननिर्माण गर्दा सकेसम्म कोही पनि स्थानीयबासी विस्थापित नगरौं ।’

सभासद्हरुले पुर्ननिर्माणका क्रममा विकास बजेटको कम्तिमा दुई प्रतिशत सम्पदाका लागि छुट्याउन पनि माग गरेका छन् ।

‘काठमाडौं उपत्यकाको पुर्ननिर्माणका लागि विशेष कोष स्थापना गरिनु जरुरी छ’, सभासद् जोशीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘पूर्वाधार निर्माणका क्रममा खुल्ला ठाउँहरु चौर, पोखरी, नदीनाला, जंगल र पहाडलाई जोगाइनु जरुरी छ । काठमाडौं उपत्यकाका खाली ठाउँ अतिक्रमण हुन नदिन पनि सरकारी गम्भीर हुनु जरुरी छ ।’

सभासद्हरुको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितको पुनःस्थापना हुने क्षेत्रमा सबै पूर्वाधार बनाइनुपर्नेमा जोड दिए ।

‘नयाँ ठाँउमा बसोबास गर्दा सबै पूर्वाधार बनाऔं’, काठमाडौं उपत्यकाका सभासद्हरुको ज्ञापनपत्र बुझ्दै प्रम कोइरालाले भने,‘बिजुली, पानी, ढल, नाली, टेलिफोन, पानी र सडकजस्ता पूर्वाधारले सम्पन्न होस ।’

प्रधानमन्त्री कोइरालाले पुनर्बासको थालनी नभएकाले आफ्ना सुझाव निर्र्धक्क दिन पनि आग्रह गरे । उनले नेपाली जनताको माटोप्रतिको मोहको प्रशंसा गर्दै दुःख खपेर बस्न सक्ने सहनशील स्वभावको  सराहना गरे ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411