
काठमाडौं । सरकारले मंगलबार (आज) मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए।
सरकारले कोरोना संक्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो।
सरकारले साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । तर होटल–रेस्टुरेन्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन भने गर्न पाइनेछैन ।
यस्तै ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्न सकिने सरकारको निर्णय छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको मंगलबारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
यस्तै भदौ १ देखि छोटो, मध्यम र लामो दूरीका यात्रुबाहक सवारीसाधनहरु सञ्चालन गर्न दिने निर्णय भएको छ । यस्तै भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ ।
यस्तै भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णय पनि सरकारले गरेको छ ।