सेनाले बनाउँदैछ छाङरु जाने बाटो, भारतको बाटो प्रयोग गर्ने बाध्यता हट्ने

मंगलवार, श्रावन ६, २०७७ साल,
काठमाडौँ । भारतको बाटो भएर पुनः नेपाल प्रवेश गर्नु पर्ने छाङरुका बासिन्दाको बाध्यता हटाउनका लागि अहिले नेपाली सेनाले दार्चुलाबाट छाङरुसम्म पुग्ने बाटो बनाइरहेको छ ।

सेनाले गएको जेठ ८ गतेदेखि दुई मिटर चौडाइको घोडेटो बाटो बनाउने काम थालेकोमा अहिलेसम्म २५० मिटरको काम सकिएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिएका छन् ।

अहिले थप ३० मिटरमा काम भइरहेको उनले बताए । कुल ४५० मिटरको सो घोडेटो बाटो अहिलेकै गतिमा काम भयो र मौसमले साथ दिएमा एक महिना भित्र पूरा हुने प्रवक्ता पौडेलले जानकारी दिए ।

छाङरुबाट दार्चुला आउने बाटो नहुँदा स्थानीय बासिन्दा भारतको धार्चुला गएर आउनु पर्ने बाध्यता कायम छ । दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने छाङरु र तिंकर गाउँमा कम्तीमा १८० घरपरिवार छन् । यो बाटो बनेपछि पैदल यात्राका लागि छाङरुका बासिन्दाले भारतको बाटो प्रयोग गर्नु पर्ने छैन ।

भौगोलिक रुपले अति कठीन चट्टानयुक्त घाँटीबगर–तिंकर सडकखण्डमा ट्रयाक खोल्ने जिम्मा पाएको नेपाली सेनाले सो भन्दा पहिले स्थानीयका लागि घोडेटो बाटो बनाइरहेको हो । स्थानीय मौरी भिरमा चट्टान र घाँटीबगरमा गएको पहिरोका कारण छाङरुका बासिन्दा नेपाली भूमि हुँदै सदरमुकाम पुग्न सक्ने अवस्था छैन ।

अबको एक महिनामा घोडेटो बाटो बन्ने र त्यसपछि सो समस्या हट्ने प्रवक्ता पौडेलले बताए । घोडेटो बाटो बनाइसेकपछि सेनाले दार्चुला–तिंकर खण्डको ८७ किलोमिटरमा ट्रयाक खोल्न थाल्ने छ ।

नेपाल सरकारले हालै लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको नक्सा सार्वजनिक गरेपछि छाङरुमा सुरक्षा पोस्ट स्थापना भएको थियो ।

यसैबिच देशभर लगातारको वर्षाका कारण बाढी तथा पहिरो गइरहेका परिवेशमा नेपाली सेनाको उद्धार तथा राहत टोली आवश्यक परेका ठाउँमा पुग्ने गरी तयारी अवस्थामा रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रशासन, स्थानीय निकायसहितका सम्बन्धित निकायसँग निरन्तर छलफल भइरहेको र आवश्यकता अनुसार उद्धार तथा राहतका लागि खटिन तयार रहेको उनले बताए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411