
काठमाडौं । सुनको मूल्य लगातार बढेर दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ। फागुन २३ गते शुक्रबार पनि सुन तोलामा १ हजार ८०० रुपैयाँले बढेर ८२ हजार ५०० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन बिहीबार तोलामा २०० रुपैयाँले बढेर ८० हजार ७०० रुपैयाँ कायम भएको छापावाला सुनको भाउ बिहीबार फेरी बढेको हो।
यस दिन तेजाबी सुन भने प्रतितोला ८२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।
एक सातामा सुनको भाउ प्रतितोला ३ हजार ३०० रुपैयाँले बढीसकेको छ। गत साताको शुक्रबार अर्थात फागुन २३ गते ७९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको भाउ ८२ हजार ५०० रुपैयाँ पुगेको हो।
यस दिन चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर ८९० रुपैयाँ पुगेको छ। अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला ८८० रुपैयाँमा कारोबार भएको थियो।
सुनको भाउ दैनिक रुपमा बढ्दै जानुमा कोरोना भाइरस नै मुख्य कारण रहेको सुनचाँदी व्यवसायी तेजरत्न शाक्य बताउछन्। कोरोना भाइरका कारणले विश्व नै आतंकित भएको बेला शेयर बजार ओरालो लागेको छ जसको कारण लगानीकर्ताहरु सुरक्षीत लगानीका लागि सुनतर्फ आकर्षित भएका छन्।
सुनमा लगानीकर्ताको आकर्षण बढ्दा अन्तराष्ट्रिय क्षेत्रमा सुनको भाउ बढेको छ जसले गर्दा नेपालमा पनि सुनको भाउ बढेको उनको बुझाइ छ।
पछिल्लो समय दैनिक १० किलोभन्दा थोरै सुन कारोबार हुने गरेको शाक्यले बताए। गत वर्षको यसै समयमा दैनिक ५० किलोभन्दा धेरै सुन कारोबार हुने गरेकोमा यस वर्ष दैनिक १० किलो पनि मुस्कीलले कारोबार हुनेगरेको शाक्यले बताए।