गाँजा प्रतिबन्ध फुकाउन विधेयक ल्याउँदै सांसद तामाङले भने, ‘५०–६० खर्बको अर्थतन्त्र बन्ने’

सोमबार, फागुन १९, २०७६ साल,
काठमाडौँ । गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्ने गैरसरकारी विधेयक संसदमा दर्ता भएको छ । प्रतिनिधिसभा अन्तर्गतको विधेयक शाखामा सांसद शेरबहादुर तामाङले उक्त विधेयक दर्ता गरिएको हो ।

विधेयक दर्ता गर्दै सांसद तामाङले यो कानुन पास भएपछि नेपालको अर्थतन्त्रमा ठूलो सहयोग गर्ने बताए । उनले अमेरिकाको क्यालिफोर्निया राज्यले २२ बिलियन डलरको योगदान गाँजाले गर्ने बताउँदै नेपालमा यो कानुन बने ५०–६० खर्बको अर्थतन्त्र बनाउन समेत सकिने बताए ।

अहिले नयाँ दिल्लीमा गाँजाको मूल्य प्रतिकेजी ८ लाख रुपैयाँ भएको बताए । यही मार्च ७ मा संयुक्त राष्ट्रसंघमा गाँजालाई लागुऔषधबाट हटाएर औषधीजन्य वस्तुमा रुपान्तरण गर्न भोटिङ हुन गइरहेको बताउँदै त्यसमा नेपालले पक्षमा भोटिङ गर्नुपर्ने बताए ।

तामाङले पेश गर्न लागेको उक्त विधेयक संविधान जारी भएपछिकै पहिले गैर सरकारी विधेयक हो । संसदमा सामान्यतयाः सरकारले नै विधेयकहरु ल्याउने प्रावधान भए पनि सांसदहरुलाई सोझै विधेयक ल्याउने अधिकार पनि हुन्छ । सोही अधिकारलाई प्रयोग गर्दै गाँजा खेतीको नियमन र व्यवस्थापन गर्न बनेको विधेयक ल्याएका हुन् ।

अहिले नेपालमा गाँजाको खेती तथा कारोबार प्रतिबन्धित छ । नेपालमा प्रतिबन्धित गाँजा अन्य विभिन्न देशहरुमा भने कानूनी रुपमा खरिदबिक्री हुन्छ । गाँजामा ४०० भन्दा बढी तत्त्व पाइन्छन् जुन क्यान्सर लगायतका विभिन्न रोगहरुको उपचारमा समेत प्रयोग हुन्छ । त्यही कारण यसलाई खुला गर्न र त्यसको नियमन र व्यवस्थापन गर्न यस्तो विधेयक ल्याउनुपरेको सांसद तामाङले बताए ।

संसदमा गैरसरकारी विधेयक विरलै मात्र आउँछ । यसअघि सांसद विजय सुब्बाले आईएलओ सम्बधी विधेयक संसदमा प्रस्तुत गरेका थिए जसलाई पछि सरकारी विधेयकको मान्यता दिएको थियो । सो विधेयकपछि हालसम्म अन्य दुईओटा विधेयक आएका थिए । आज प्रस्तुत गर्न लागिएको विधेयक चौथो गैरसरकारी विधेयक भएको सांसद तामाङले बताए ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411