अमेरिका-चीनबीच १७ महिनादेखि जारी व्यापार युद्ध रोकिने संकेत, भन्सार शुल्क बढाउने निर्णय स्थगित

शुक्रबार, मंसिर २७, २०७६ साल,
काठमाडौं । अमेरिका र चीनका बीच पहिलो चरणको व्यापार वार्तामा सहमति भएको छ। योसँगै दुई देशका बीच पछिल्लो १७ महिनादेखि जारी व्यापार युद्ध पनि तत्कालका लागि रोकिने संकेत देखिएको बताइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सहमतिमा हस्ताक्षर गरिसकेको तर आधिकारी घोषणा हुन भने बाँकी नै रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

सम्झौता अनुसार, १६० अर्ब डलरको चिनीयाँ आयातित सामानमा अमेरिकी शुल्क वृद्धि स्थगित भएको छ। अमेरिकाले चिनियाँ सामानमाथि डिसेम्बर १५ देखि तय गरेको अतिरिक्त भन्सार शुल्क बढाउने निर्णय स्थगित हुनेछ।

यसअघि अमेरिकाले १ खर्ब ६० अर्ब डलरका चिनियाँ सामानमा डिसेम्बर १५ देखि अतिरिक्त शुल्क लगाउने घोषणा गरेको थियो। यो चरणको शुल्क वृद्धिमा स्मार्टफोन तथा खेलौनाजस्ता सामग्रीहरू पनि शामिल छन्।

दुई मुलुकबीचको व्यापार सम्झौताको लागि तोकिएको समय निरन्तर सर्दै आएको भए पनि व्यापार वार्ता नरोक्ने पक्षमा यी दुई मुलुक देखिएका हुन्।

अमेरिकाले चीनबाट आयात हुने सामानमा पहिलेदेखि नै लगाइएको केही शुल्कमा ५० प्रतिशत कटौती पनि गर्ने बताइएको छ। सम्झौता अनुसार चीनले अमेरिकी कृषि उत्पादनमा शुल्क घटाएर खरीद बढाउने पक्षमा सहमत भएको छ।

अमेरिकाले २ खर्ब ५० अर्ब डलरका चिनियाँ सामग्रीमा २५ प्रतिशत भन्सार र १ खर्ब १० अर्ब डलरका सामग्रीमा १५ प्रतिशत शुल्क लगाउँदै आएको छ। अहिले दुई देशबीच जारी वार्ता भन्सार शुल्क घटाउनेमा केन्द्रित रहेको बताइएको छ। एजेन्सी

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411