अबदेखि माइक्रो, मिनिबस र ट्याम्पोमा यात्रु उभ्याउन नपाइने, उभ्याएमा १५ सय जरिवाना

सोमबार, कार्तिक २५, २०७६ साल,
काठमाडौं । अबदेखि साना सार्वजनिक सवारीसाधनले यात्रुलाई उभ्याएर यात्रा गराउन नपाउने भएका छन्। माईक्रो बस, मिनिबस, ट्याम्पो लगायतका साना भाडाका सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने भएका हुन्। ठूला बसहरुले पनि यात्रुहरुलाई खचाखच हुने गरी उभ्याउने पाउने छैनन्।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले छिट्टै लागु गर्ने गरी तयारी भैरहेको जानकारी दिएका छन्। उनले यात्रुको अधिकारलाई स्थापित गर्न र सार्वजनिक सवारीसाधन सुधार गर्न यो नीति ल्याउने लागिएको बताए।

यो नीति लागु भएपछि यात्रुहरुलाई उभ्याएमा ट्राफिक प्रहरीले १ हजार ५ सय सम्म जरिवाना गर्न सक्नेछ।

ठूला बसहरुले केही यात्रुहरुलाई मात्रै सहज हुने गरी उभ्याएर यात्रा गराउन पाउने छ । विभागका अनुसार विहान र बेलुकी यात्रुहरुको अत्यधिक चाप हुने भएकाले ठूला बसमा केहीलाई सहज हुने गरी उभ्याएर पनि यात्रा गराउन दिन लागिएको हो।

यो नियम तत्कालका लागि उपत्यकाभित्र लागु गर्न लागिएको हो। पहिलो चरणमा शहरी क्षेत्रलाई लक्षित गर्ने दोस्रो चरणमा देशैभर लागु गर्ने तयारी छ।

उपत्यका बढ्दो जामको समस्या समाधानका लागि विभागले अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने तयारी गरेको छ। त्यसका लागि अध्ययन कमिटी बनाएर अध्ययन सुरु गरेको महानिर्देशक हमालले जानकारी दिए।

वान वे बनाउने, पार्किङ स्थल तथा अन्य विषय अल्पकालीन योजनामा अध्ययन हुनेछ भने दीर्घकालीनमा पूर्वाधार निर्माणसम्मको अध्ययन हुनेछ। अध्ययन कमिटीले अहिले सडक विभाग  लगायतका निकायसँग मिलेर आवश्यक फाईल अध्ययन गरिरहेको छ।

केही महिनामै उक्त प्रतिवेदन तयार हुनेछ। अल्पकालीन योजना तत्कालै कार्यान्वयन हुनेछ भने दीर्घकालीन विस्तारै लागु गर्दै लगिने पनि हमालले बताए। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411