मलेसियामा रोजगारी खुल्यो, अड्केका सबै विषयमा सहमति जुट्यो

बिहीवार, भाद्र २६, २०७६ साल,
काठमाडौं । नेपाल र मलेसियाबीच भएको पछिल्लो श्रम समझदारीमा अड्केका सबै विषयमा सहमति जुटेको छ ।

मलेसियाको पुत्रजयामा २४ भदौदेखि जारी नेपाल र मलेसिया सरकारका अधिकारीहरुबीच भएको वार्तापछि श्रम समझदारी कार्यान्वयन गर्न सबै विषयमा सहमति जुटेको हो ।

श्रम समझदारी कार्यान्वय गर्नेबारे भएको यो दोस्रो बैठक हो । यसअघि १२ कात्तिक २०७५ मा श्रम सम्झौता भएपछि काठमाडौंमा प्राविधिक समितिको पहिलो बैठक बसेको थियो ।

पुत्रजयामा भएको दोस्रो बैठकमा मलेशियाको श्रम, गृह र परराष्ट्र मन्त्रालयका करीब १० र नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पाँच र मलेशियास्थित नेपाली दूतावासका तीन गरी आठजना अधिकारी सहभागी थिए ।

बैठकमा सहभागी श्रम मन्त्रालयको वैदेशिक रोजगार शाखाका प्रमुख दीपक ढकालले मलेसिया कामदार पठाउन ८६ स्वास्थ्य संस्थाको बारेमा अनुगमन गर्नेबारे सहमति जुटेको बताएका छन् ।

“अब मलेसियाको सरकारले ८६ वटा स्वास्थ्य संस्थाको अनुगमन गर्ने छ”, ढकाल भन्छन्, “अनुगमनपछि टुङ्गो लागेका स्वास्थ्य संस्थाले मात्र मलेसियामा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने छन् ।”

श्रम मन्त्रालयले १२२ वटा स्वास्थ्य संस्था छनोट गरेको थियो । मन्त्रालयले मलेसियाको सरकारको मापदण्डअनुसार स्वास्थ्य संस्थाको अनुगमन गरेर १२२ को सूची तयार पारेको थियो ।

मलेशियामा जाने नेपाली सुरक्षा गार्डको विषयमा पनि श्रम समझदारी बाहेक छुट्टै सम्झौता गर्न नपर्ने विषयमा पनि दुई पक्षका बीच सहमति जुटेको छ ।

दुई पक्षबीच भएको बैठकका क्रममा मलेशियाको सरकारले नेपालबाट घरेलु कामदार लैजाने विषयमा पनि चासो राखेको थियो ।

तर, बैठकमा सहभागी नेपाली अधिकारीहरुले श्रम समझदारीमा घरेलु कामदार पठाउनेबारे कुनै विषय उल्लेख नभएकाले प्रस्ताव अस्वीकार गरेका थिए ।

पुत्रजयामा भएको दोस्रो चरणको वार्ता २६ असारमा सहमतिमा टुङ्गिएसँगै मलेशियामा नेपाली कामदार पठाउने बाटो सहज बनेको आकलन गरिएको छ ।

तरपनि नयाँ श्रम समझदारी अनुसार मलेशिया कामदार पठाउने क्रम कहिले खुल्छ भन्नेबारेमा मिति तय भई नसकेको श्रम मन्त्री गोकर्ण विष्टले बताए ।

बिष्ट भन्छन्, “कहिलेदेखि मलेशिया जाने प्रक्रिया शुरु हुन्छ भन्ने बारेमा दुई, चार दिनभित्र मिति तय हुन्छ ।” उनले दुई देशका अधिकारिबीच बिहीबार भएको सहमतिले श्रमिक ठगिने बाटोलाई बन्द गर्न सहयोग पुर्‍याएको बताए ।

“अबदेखि श्रमिकको हितलाई मध्यनजरमा राखेर मलेशियामा कामदार पठाइने छ”, उनी भन्छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411