२४ घन्टाभित्र राजधानीका सबै एटीएम रित्याउने योजना थियो चिनियाँ ह्याकरहरुको, मात्र एक मिनेटले जागियो

आईतवार, भाद्र १५, २०७६ साल,
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार शनिबार अपरान्ह चार बजे उनलाई प्रभु बैंकका अप्रेसन अफिसरले फोन गरे, ‘दरबारमार्गमा रहेको नबिल बैंकको एटिएम बुथमा मानिसहरुको अस्वभाविक चहलपहल भइरहेको छ।’

काठमाडौं प्रहरी परिसरसहित दरबारमार्ग, सोह्रखुट्टे र कमलपोखरी प्रहरी वृतबाट प्रहरी परिचालित भए। नबिल बैंकको त्यस एटिएम बुथ पुग्दा एक चिनियाँ नागरिक पैसा निकालिरहेका थिए। उनि बाहिर निस्किएलगत्तै प्रहरीले नियन्त्रणमा लियो।

एटीएमबाट ४५ हजार रुपैयाँ निकालेका रहेछन्। झोला खानतलासी गर्दा २० वटा एटीएम कार्ड भेटिए। प्रहरीको आशंका बढ्यो। ती चिनियाँ नागरिकल‍े केही नबोलेपनि  झोलामा हात्तिसारमा रहेको माया मनोहर बुटिक होटलको कोठाको साँचो भेटियो। प्रहरी तत्काल त्यस होटलतर्फ लाग्यो।

चारजना चिनियाँ नागरिक दुई वटा सुटकेश र दुई वटा झोला बोकेर होटलबाट निस्कँदै थिए। एटिएम बुथबाट लिइएका सिसिटिभी फुटेजसँग दाँज्दा ती चारै जनासँग अनुहार मिल्यो। प्रहरीले उनिहरुलाई लिएर होटलका कोठामा पुग्यो। सुटकेश र झोला खोल्यो। प्रहरी आत्तिए। त्यहाँ पैसा कोचीकोची राखिएको थियो।

प्रहरीले त्यहाँबाट एक करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, ९ हजार एक सय ८ अमेरिकी डलर, २ सय ५० युरो, चाइनिज मुद्रा ११ सय ९१ चिनियाँ युआन, पाँच हजार कम्बोडियन रुपैयाँ र ८० हङकङ डलर बरामद गर्‍यो। साथमा भेटियो एक सय ३२ वटा नक्कली भिषा कार्ड र १७ थान सक्कली भिषा कार्ड पनि। प्रहरीलाई पैसा गन्न मात्र राती २ बजेसम्म लागेको थियो।

‘शनिबार दिउँसो र रातभरमा राजधानीका सबै एटीएम बुथबाट पैसा निकालेर आइतबार क्यासिनो जाने र सोमबार चीन फर्कने उनीहरुको योजना रहेछ’, काठमाडौं प्रहरी प्रवक्ता बोगटीले भने। उनका अनुसार माया मनोहर बुटिक होटलमा चिनियाँ नागरिकको चार चार जनाको दुई वटा समूह थियो जो एक अर्कामा परिचित थिएनन्। तर दुवै समूह शुक्रबार मात्र नेपाल उत्रिएका थिए।

‘नबिल बैंकको एटिएम बुथबाट चिनियाँलाई नियन्त्रणमा लिँदा वरिपरी तीनजना चिनियाँ रहेको देखिन्छ। साथीलाई पक्राउ गरेपछि उनीहरु दौडँदै होटल पुगेर पैसा लिएर भाग्न खोज्दा पक्राउ गरेका हौँ’, डीएसपी बोगटी भन्छन्।

प्रहरीका अनुसार सोही होटलमै रहेका अन्य तीन जना चिनियाँ भने भाग्न सफल भएका छन्। उनिहरुले कति पैसा लिएर भागे भन्नेबारे प्रहरी यकिन हुन सकेको छैन।

उनीहरुले कतिवटा एटीएम बुथबाट पैसा झिकेका थिए भन्नेबारे प्रहरी यकिन हुन सकेको छैन। ‘ एउटा एटिएम बुथ रित्याएपछि अर्कोमा जाने गरेको पाइयो। पैसा झिकेपछि होटल पुर्‍याइहाल्ने  प्रारम्भिक अनुसन्धानबाट देखिएको छ’, बोगटी भन्छन्।

नेपालमा शनिबार विदाको दिन परेकाले शनिबार बिहानदेखि आइतबारबिहानसम्म एटिएमबाट पैसा झिक्ने उनिहरुको योजना रहेको अनुसन्धान अधिकारी बताउँछन्।

‘हामी एक मिनेट मात्र होटलमा ढिला पुगेका थियौँ भने उनीहरु पैसा लिएर त्यहाँबाट भागिसकेका हुन्थे। त्यो अवस्थामा उनीहरुलाई पक्राउ गर्न निकै गाह्रो हुने थियो’, बोगटी भन्छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411