भीरबाट तीन सय गाई खसाल्ने पाँच ट्रक नियन्त्रणमा

शुक्रबार, भाद्र १३, २०७६ साल,
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरदेखि १४ किलोमिटर उत्तरमा दैलेख सदरमुकाम जाने सडक उकालो छ। कटकुवा जंगलको सडक छेउमा ठूलै भीर त छैन तर चौपाया भने त्यहाँबाट हिँड्न सक्दैनन्।

बिहीबार रातिदेखि त्यही भीरमा साढे दुई सयभन्दा बढी गाईगोरु अड्किएका छन्। १२ गाई र ४ गोरु त मरिसकेका छन्। बिहीबार राति ट्रक चालकले ती गाईगोरुलाई भीरमा खसालिदिएका थिए।

वीरेन्द्रनगरको प्रवेश क्षेत्र सुब्बाकुना प्रहरी चेक पोष्टमा बिहीबार राति १२ बजेतिर आठ वटा गाईगोरु बोकेका ट्रक इन्ट्री भएको सहायक प्रहरी निरीक्षक प्रमोदसिंह ठकुरीले जानकारी दिए।

तीमध्ये ना ६ ख ९९०५, ९१७७, ४९४९ र ना ५ ख १०१५ नम्बरका ट्रक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन्।

बाँकी तीन ट्रकको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रवि रावलले बताए।

ट्रक चालकले दिएको बयानअनुसार यी गाईगोरु नेपालगञ्ज उपमहानगरपालिकाले पठाएको हो। नेपालगञ्जका सडकमा छाडा छोडिएका गाईगोरुलाई स्थानीय काञ्जी हाउसमा राखिएको थियो।

दैलेखको श्रीस्थानका कृषकले गाई पाल्ने बताएपछि नगरपालिकाले प्रक्रिया पुर्‍याएर दुई सय ९१ गाईगोरु आठ ट्रकमा हालेर दैलेख पठाएको थियो।

रावलका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेबाट गाईहरू दैलेख लैजान सिफारिस दिइएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलका अनुसार गाईगोरु नगर प्रहरीको नेतृत्वमा दैलेख पठाइएको थियो। बाटोमा गाईगोरु मर्न थालेपछि नगर प्रहरीको टोली नेपालगञ्ज फर्किएको पौडेलले बताए।

‘छाडा पशुचौपाया व्यवस्थापनका लागि दैलेखको श्रीस्थान लैजाने भनेर लिइएको हो, बीचमै गाईगोरु मरेपछि स्थानीयले थाहा पाए विरोध गर्लान् भन्ने सोचेर हाम्रो यहाँको टोली बाटोमै छोडेर फर्किएको रहेछ,’ उनले भने।

बाटोमा अरू कसैले गाईगोरु कसैले पाल्न चाहे दिने नत्र दैलेख लैजाने गरी नेपालगञ्जबाट लगिएको पौडेलले जानकारी दिए।

‘काञ्जी हाउसमा धेरै भएका गाईगोरु दैलेख, सुर्खेत, जाजरकोटलगायत पहाडमा पाल्न दिने गरेका छौं,’ उनले भने, ‘यसपटक पनि सुर्खेत उपत्यकाभन्दा माथि कसैले पाल्न चाहेमा दिने र दैलेख पुर्‍याउने भनेर लिइएको हो, के सोचर हाम्रो टोली फर्कियो, थाहा भएन।’

जंगलमा छोडिएकामध्ये बाँचेका गाईहरुलाई नेपालगञ्ज फिर्ता ल्याउने विषयमा छलफल भइरहेको पौडेलले जानकारी दिए।

नेपालगञ्ज उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलसमशेर राणा मेयर छन्। हिन्दुवादी राप्रपाले आफ्नो चुनाव चिन्ह र झन्डामै गाईको तस्बिर राखेको छ।

भीरमा फालिएका गाईगोरुलाई वीरेन्द्रनगर नगरपालिकाले उद्धार गरेको छ। नगरपालिकाका बरिष्ठ अधिकृत प्रकाश पौडेलले दिएको जानकारीअनुसार ती ट्रकले सुब्बाकुनाको प्रहरी चेक पोष्ट नपुग्दै ११ वटा गाई गोरु खसालेका थिए।

‘त्यहाँ खसालेका मध्ये ८ वटा मरिसकेका छन्। मरेका चौपायाको भोलि व्यवस्थापन गर्छौं,’  पौडेलले भने।  

पशुपंक्षीसम्बन्धी कसुरअन्तर्गत कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कार्य गरे तीन वर्षसम्म कैद हुने कानुन छ।

यस्तै गाई वा गोरुलाई अंगभंग बनाएमा  ६ महिना कैद र अन्य चोट पुर्‍याएमा ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था ऐनमा छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411