प्यान कार्ड लिदैमा कर तिर्नु पर्दैन, नागरिकता जस्तै अनिवार्य लिनुपर्ने : अर्थमन्त्री खतिवडा

शुक्रबार, भाद्र १३, २०७६ साल,
काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्यान कार्ड नागरिकता जस्तै भएकाले सबैले लिनुपर्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा मन्त्री खतिवडाले अनौपचारिक व्यवसाय र आय आर्जनलाई औपचारिक बनाउने काम प्यान नम्बरले गर्ने भएकाले यसलाई ठूलो विषय बनाउनु नपर्ने बताए । नागरिकता अनिवार्य विषय भए जस्तै सरकारले दिने सेवा सुविधा लिनका लागि पनि हरेकले प्यान कार्ड लिनुपर्ने स्पष्ट पारे ।

‘प्यान लिए वापत कर तिर्नुपर्ने होइन,’ उनले भने, ‘यो करदाता परिचयपत्र हो ।’ अनौपचारिक व्यवसायलाई औपचारिक प्रणालीमा ल्याउनका लागि नै ढुवानी सेवामा पनि मुल्य अभिवृद्धि कर लगाइएको स्पष्ट पारे ।  ढुवानीका साधन एउटाको, मालिक अर्कै र व्यवसाय अर्कैले चलाउने अस्तव्यस्त आर्थिक कारोबार र व्यवसायलाई प्रणालीमा ल्याउन मुल्य अभिवृद्धि करको अर्को विकल्प नभएको उनले बताए ।

नीतिगत व्यवस्थाका कारण अन्तरदेशीय व्यापारलाई औपचारिक गराएर पनि व्यवस्थित गर्न नसकिएको उनको भनाई छ । ‘राष्ट्रबैकले तिब्बतबाट हुने आयातमा जति मूल्य सटही दिने भन्छ त्यत्तिनै भन्सारमा विगो कायम हुन्छ,’ उनले भने, ‘जति रकम दियो त्यत्तिको भर्ने भएकाले समस्या छ ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सबै कामदारलाई अनिवार्य प्यान नम्बर लिनुपर्ने व्यवस्था नीजि क्षेत्रका लागि मान्य नहुने बताए । ढुवानी सेवामा मूल्य अभिवृद्धि कर लगाउँदा दैनिक उपभोग्य वस्तुको मूल्य बढेर उपभोक्तालाई प्रत्यक्ष असर परेको उल्लेख गर्दै उनले मुल्य अभविृद्धि करको दायरालाई हटाई सेवा कर लगाउने व्यवस्था गर्न आग्रह गरे ।

कार्यक्रममा उद्योगीहरुले कर सम्बन्धी सरकारले ल्याएको नयाँ व्यवस्थाले व्यवसाय र व्यवसायी दुवैलाई प्रभावित बनाएको गुनासो गरेका थिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411