नेपाल टेलिकमको मोबाइल ग्राहकका लागि रोमिङ शुल्कमा भारी छुट

सोमबार, श्रावन २७, २०७६ साल,
काठमाडौं । नेपाल टेलिकमले रोमिङ शुल्कमा भारी छुट दिएको छ  । टेलिकमले विश्वभरका ८७ वटा मुलुकका १ सय ९२ दूरसञ्चार सेवाप्रदायक कम्पनीसँग सहकार्य गरी ती देशमा जाँदा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराइरहेको छ । तीमध्ये हालै ५३ मुलुकका ९९ सेवा प्रदायकसँगको रोमिङ सेवा शुल्कमा एकैचोटी भारी छुट प्रदान गरिएको छ । कम्पनीका जीएसएम मोबाइल ग्राहकका लागि उपलब्ध रोमिङ सेवामा यो सहुलियत प्रदान गरिएको हो ।

कम्पनीले वैशाख १६ देखि जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु चीन र भारतमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएको छ । सन् २००१ बाट जीएसएम पोस्टपेड सेवाका ग्राहकका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवाको शुरुवात गरेको थियो । त्यतिबेला छिमेकी मुलुक भारतबाट प्रारम्भ गरिएको रोमिङ सेवा अहिले विश्वका धेरै मुलुकमा सञ्चालनमा आएको छ ।

 जिएसएम प्रिपेड मोबाइल सेवामा कार्यान्वयनमा आइसकेको अन्तर्राष्ट्रिय रोमिङ सुविधा पश्चात भारतमा जाँदा नेपाल लगायत जुनसुकै मुलुकबाट आएको आगमन कलको शुल्क प्रतिमिनेट करसहित जम्मा १४ रुपैयाँ मात्र लाग्छ । यसैगरी भारतमा रहँदा उक्त सेवामार्फत नेपालमा वा भारतमा फोन गर्दा प्रतिमिनेट करसहित ३० रुपैयाँ लाग्नेछ भने जम्मा २४ रुपैयाँमा विश्वभर सन्देश पठाउन सकिनेछ । साथै निशुल्क सन्देश पनि प्राप्त गर्न सकिनेछ ।

 उत्तरी छिमेकी मुलुक चीनमा रहेका बेला नेपालमा फोन गर्दा प्रतिमिनेट ९० रुपैयाँ र नेपाल लगायत विश्वका जुनसकै मुलुकबाट आगमन कलको शुल्क प्रतिमिनेट ५३ रुपैयाँ मात्र लाग्ने छ । यसैगरी चीनभरी जुनसुकै नम्बरमा  कुरा गर्दा प्रतिमिनेट ५० रुपैयाँ र त्यहाँबाट विश्वभर जम्मा ५४ रुपैयाँमा सन्देश पठाउन सकिने छ ।

कम्पनीले जीएसएम पोष्टपेड मोबाइलमा रोमिङ सुविधा उपलब्ध गराउँदा राखिने न्यूनतम धरौटी शुल्कलाई ३० हजारबाट घटाएर १० हजार रुपैयाँ मात्र कायम गरेको छ । साथै कम्पनीका जिएसएम प्रिपेड मोबाइल सेवा प्रयोगकर्ताले थप धरौटी नराखी रोमिङ सेवा प्रयोग गर्न सक्नेछन् ।   रोमिङ सुविधा लिएपछि नेपाल टेलिकमका जीएसएम मोबाइल प्रयोगकर्ताले विभिन्न देशमा गएको समयमा नेपाल लगायत विश्वभरका मुलुकमा फोन गर्न, आएको फोन उठाउन, सन्देश पठाउन तथा प्राप्त गर्न सक्नेछन् । यसका साथै स्थानीय मोबाइल अपरेटरका नम्बरमा पनि कुरा गर्न र सन्देश आदानप्रदान गर्न सकिने टेलिकमले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411