सुनको मुल्य ७० हजार पुग्यो, वर्षमा १४ हजारले वृद्धि

बिहीवार, श्रावन २३, २०७६ साल,
काठमाडौं । नेपाली बजारमा छापावाला सुनको मूल्यले धमाधम आफ्नो रेकर्ड तोड्दै गएको छ । २०७५ को साउन २२ मा प्रतितोला सुनको मूल्य रू ५६ हजार १ सय रहेकोमा आज ७० हजार पुगेको छ । एक वर्षको अवधिमा सुनको मूल्य रू १४ हजारले बढेको छ ।

गत असारमा मात्र प्रतितोला रू ६५ हजार ५ सय पुगेर नयाँ कीर्तिमान बनाएको सुनको मूल्य बुधवार हालसम्मकै सबैभन्दा बढी भएको हो । गत शुक्रवार पनि सुनको मूल्य प्रतितोला रू ६५ हजार ८ सय थियो । त्यो दिनको हकमा उक्त मूल्य पनि इतिहासकै सबैभन्दा बढी थियो । त्यसयतादेखि सुनको मूल्यले निरन्तर नयाँ कीर्तिमान राख्दै आएको छ ।

यसअघि नेपाली बजारमा सुनको मूल्य प्रतितोला रू ६३ हजार ३ सयसम्म पुगेको इतिहास छ । २०७० भदौ १२ र गत फागुन ८ गते सुनको मूल्य सो विन्दुमा पुगेको थियो । अन्य समयमा सुनको कारोबार प्रतितोला रू ५० हजारदेखि रू ६० हजारको बीचमा भएको पाइन्छ । २०७३ मा भने सुनको मूल्य प्रतितोला रू ४७ हजार २ सयसम्म झरेको थियो ।

नेपाली बजारमा सुनको मूल्य अन्तरराष्ट्रिय बजारअनुसार नै निर्धारण हुन्छ । एक वर्ष अघिदेखि नै शुरू भएको अमेरिका र चीनबीचको व्यापार युद्ध अझै साम्य भएको छैन । गत बुधवार र बिहीवार अमेरिका र चीनका प्रतिनिधिबीच चीनमा भएको छलफल पनि विनानिष्कर्ष टुंगिएको छ । त्यसपछि अमेरिकी सरकारले चीनबाट आयात हुने ३ खर्ब रुपैयाँ बराबरको सामानमा अतिरिक्त रूपमा १० प्रतिशत भन्सार लगाउने निर्णय गरेको छ, जसले गर्दा उनीहरू बीचको विवाद हालै साम्य हुने अवस्था छैन ।

साथै, फेडरल रिजर्भ बैंक अफ अमेरिकाले निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतले घटाएको छ भने चीनको केन्द्रीय बैंकले डलर कमजोर हुने डरले डलरको सट्टा सुन सञ्चय गर्न शुरू गरेको छ ।

यसैगरी, जर्मनीको अर्थतन्त्र कमजोर हुनु, पारमाणविक सम्झौताको विषयमा अमेरिका र इरानबीचको विवाद लगायतका कारणले गर्दा विश्व अर्थतन्त्र तथा शेयर बजारमा ह्रास आइरहेको छ ।

त्यसपछि लगानीकर्ताहरूले आफ्नो लगानी सुरक्षित गर्न सुन किनेर होल्ड गर्ने गरेका छन्, जसका कारणले विश्व बजारमा नै सुनको मूल्य बढेको छ । त्यसको प्रभावले नेपालमा पनि सुनको मूल्य आकाशिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यको भनाइ छ । उनले भने, ‘पाकिस्तान र भारतबीचको द्वन्द्वले भारू कमजोर र डलर बलियो हुँदा पनि नेपालमा सुनको मूल्य बढेको छ  ।’

महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले हालै सुनको मूल्य घट्ने संकेत नभएको बताए । ‘अमेरिका र चीनबीचको व्यापार युद्ध झन् विकराल बनेको छ । विश्व अर्थतन्त्रमा भएका पछिल्ला गतिविधिलाई हेर्दा अहिले नै सुनको मूल्य घट्ने संकेत छैन,’ उनले भने ।

गरगहना किन्नेभन्दा विक्री गर्ने बढी, व्यवसायीलाई तनाव
सुनको मूल्य बढेपछि गरगहना किन्नेभन्दा विक्री गर्ने ग्राहक बढ्दै गएका छन् । व्यवसाय नै नभएको बेला ग्राहकबाट गरगहना किन्नुपर्ने बाध्यता हुँदा व्यवसायीलाई मर्का परेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘गरगहना फिर्ता नलिँदा ग्राहक नै भड्किने डरले फिर्ता लिन बाध्य छौं,’ उनले भने, ‘अहिलेसम्म त ग्राहकले फिर्ता गरेको गहना किन्न सकेका छौं । सुनको मूल्य यही अनुसार बढ्ने हो भने त्यो अवस्था पनि आउँदैन ।’

बैंकबाट सुन किन्न छोड्यौं स् व्यवसायी
सुनको मूल्य बढेपछि कारोबार लगभग शून्य भएको महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य बताउँछन् । साथै, कारोबार नै शून्य भए बैंकबाट सुन किन्न पनि छोडेको उनको भनाइ छ । ग्राहकबाट फिर्ता हुने गरगहनाले नै काम चलाउने गरेको उनले बताए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411