८० रुपैयाँमा किनेको भिण्डी १ सय २० मा बिक्री गर्ने व्यापारीेलाई २० हजार जरिवाना

शुक्रबार, श्रावन ३, २०७६ साल,
काठमाडौं । राजधानीको बल्खुस्थित तरकारी बजारभित्रै बिचौलियाको बिगबिगी रहेका पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुमगनका क्रममा बल्खु तरकारी बजारमै बिचौलियाहरूको बिगबिगी रहेको पाइएको हो ।

बल्खु तरकारी बजारकै एक पसलबाट तरकारी किनेर अर्को पसलमा बिक्री गर्ने र त्यसमा पनि अत्यधिक नाफा लिने गरेको अनुमगनका क्रममा पाइएको छ ।

बल्खु तरकारी बजारका व्यवसायी गोविन्दमान श्रेष्ठ बजारभित्रै अर्को पसलबाट तरकारी खरिद गरी ३३ प्रतिशत भन्दा बढी नाफा राखेर बिक्री गरिरहेको अवस्थामा फेला परे ।

शुक्रवार विभागले गरेको अनुगमनका क्रममा उनले प्रतिकिलो ८० रुपैयाँका दरले खरिद गरेको चिप्ले भिण्डी १ सय २० रुपैयाँका दरले बेचिरहेको पाइयो ।

बाहिरैबाट खरिद गरेर ल्याउने हो भनेपनि २० प्रतिशत भन्दा बढी नाफा लिन नपाइने विभागका अधिकारीहरू बताउँछन् ।

अधिकारी सप्लायर्स नामक पसल सञ्चालन गरी बल्खुको तरकारी बजारभित्रै व्यापार गर्दै आएका उनले अनुगमन अधिकारीहरूले आवश्यक कागजात माग गर्दा समेत देखाउन सकेका थिएनन् ।

बल्खुभित्रै बिचौलियको काम गरेको र व्यवसाय दर्ता लगायतका आवश्यक प्रमाण पत्र देखाउन नसकेपछि श्रेष्ठलाई २० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन अधिकारी पवनकुमार प्याकुरेलले जानकारी दिए ।

उनलाई व्यवसाय दर्ताको सक्कली प्रमाण पत्र लिएर एक हप्ताभित्र विभागमा उपस्थित हुन निर्देशन समेत दिइएको छ ।

विभागले कालीमाटी फलफूल तथा तरकारी बजार र बल्खु तरकारी बजारका गरी १९ व्यवसायीलाई जरिवाना गरेको छ ।

तरकारी खरिद–बिक्रीको बिलबिजक नराखेको र जथाभावी तरकारीको कारोवार गरेको भन्दै व्यवसायीहरूलाई कारवाही गरिएको विभागले जानकारी दिएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारोवारको बिलबिजक राख्नुपर्ने भएपनि तरकारी व्यवसायीले नराख्ने गरेको पाइएपछि सोही ऐन अनुसार कारवाही गरिएको विभागको भनाइ छ ।

त्यसरी जरिवाना गरिएका मध्ये बल्खुका ११ र कालीमाटीका ८ व्यवसायी छन् । विभागले बल्खुमा १० व्यवसायीलाई पाँच\पाँच हजार रुपैयाँका दरले र एक व्यवसायीलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ ।

विभागका अनुसार कालिमाटी तरकारी बजारमा २ व्यवसायीलाई १०/१० हजार रुपैयाँका दरले र ६ व्यवसायीलाई ५/५ हजार रुपैयाँका दरले जरिवाना गरिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411