
काठमाडौं । गत असार ११ गते आवश्यक गणपुरक सङ्ख्या नपुगेर स्थगित भएको अपर तामाकोशी हाइड्रो पावर लिमिटेडको वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।
यस अघि साधारण सभामा उपस्थित सदस्यहरुको कोरम नपुगेकाले सभा स्थगित भएको थियो । उक्त कम्पनीको विनियमावलीमा ६७ प्रतिशत शेयरधनी उपस्थित हुनुपर्ने व्यवस्था रहेको थियो । सम्पन्न सभाले उक्त विनियमावलीमा भएको व्यवस्थालाई संशोधन गर्दै कम्पनी ऐनमा भएको व्यवस्था बमोजिम ५१ प्रतिशत कायम गर्ने निर्णय गरेको छ ।
उक्त सभामा सर्वसाधारण शेयरधनीहरुमध्यबाट चार जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव रहे पनि सञ्चालकको उमेद्वारी दिएका मध्येबाट एक जना महिला सदस्यले ऐनमा भएको व्यवस्था बमोजिम एक महिलाको सिट सुरक्षित गर्न उच्च अदालत पाटनमा निवेदन दिएपछि हाललाई निर्वाचन प्रक्रिया स्थगित गरेको कम्पनीका अध्यक्ष कुलमान घिसिङले जानकारी दिए ।
उक्त सभामा आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भएको बताउँदैं अध्यक्ष घिसिङले यहि समयमा सर्वसाधारण शेयरधनीहरुलाई पनि समेट्न सकेको भए काम गर्न थप उर्जा मिल्ने थियो भनी बताए । यद्यपि अदालती प्रक्रियालाई पूरा गरी चाँडैनै सञ्चालक निर्वाचन गरिने समेत उनले बताए ।
कम्पनीले दोलखा जिल्लामा राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । अवको आर्थिक वर्षभित्र आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन शुरु गर्ने कम्पनीको लक्ष्य छ । आयोजनाबाट विद्युत् उत्पादनपश्चात् वार्षिक बढीमा रू १० अर्ब आम्दानी गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष घिसिङले सभामा जानकारी गराएका थिए ।