ग्लोबल आइएमइ र जनता बैंक मर्ज हुने, यसरी बन्ने छ नेपालकै ठुलो बैंक

शुक्रबार, आषाढ २०, २०७६ साल,
काठमाडौं । ग्लोबल आइएमइ बैंक र जनता बैंक आपसमा मर्ज हुने भएका छन् । दुबै बैंकका अध्यक्षले आज मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् ।

समझदारीत्रमा सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) ८५ प्रतिशत रहने भद्र समति गरिएको स्रोतको दाबी छ ।

ग्लोबलका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् । सांग्रिला होटेलमा हस्ताक्षर भएको हो ।

स्रोतहरुका अनुसार, मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ। सञ्चालकमा ग्लोबलको पाँच जना र दुई जना जनता बैंकबाट आउने छन्। बैंक अध्यक्षमा चन्द्रप्रसाद ढकालनै हुने सहमतिमा छ।

प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्रीले निरन्तरता पाउने छन्। बरिष्ठ डेपुटी सिइओमा महेश ढकाल हुनेछन्।

ग्लोबल आइएमइ बैंक र जनता बैंक गाभिएपछि सर्वसाधारणबाट उठाएको निक्षेप १ खर्ब ८७ अर्ब ८८ करोड रुपैयाँ पुग्ने छ। यो चैत मसान्तसम्मको तथ्यांकमा आधारित हो।

सर्वसाधारणमा दिएको ऋण लगानी एक खर्ब ७० अर्ब रुपैयाँ नाघ्ने छ। शाखा सञ्जाल २७८ पुग्नेछ। यसबाहेक बैंकका शाखारहित बैंकिङ इकाई र एक्सटेन्सन काउन्टर पनि हुनेछन्।

प्रारम्भिक सहमति अनुसार, जनता बैंकले एक कित्ता बराबर ८५ रुपैयाँ पाउनेछ। यस हिसाबले अहिले जनता बैंकसँग ८ अर्ब रुपैयाँ चुक्ता पूँजी छ। यसमध्ये ६ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजीका रुपमा ग्लोबलसँग मिसिने छ।

अहिले ग्लोबलको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ छ। यसमा जनताको ६ अर्ब ८० करोड मिसिँदा पूँजी १७ अर्ब ११ करोड रुपैयाँ हुने छ।

जनताको शेयर आदानप्रादन अनुपात मिलाएपछि १ अर्ब २० करोड रुपैयाँ जगेडा कोषमा जान योग्य हुनेछ। अहिले जनतासँग १ अर्ब ७५ करोड रुपैयाँ जगेडा कोष छ। ग्लोबल आइएमइको २ अर्ब ७३ करोडको कोष छ। योसबै गरेर जगेडा कोष ५ अर्ब ६९ करोड रुपैयाँको हुनेछ। पूँजी र जगेडा जोड्दा पूँजी कोष २२ अर्ब ८० करोड रुपैयाँको पुग्ने छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411