ऋण गरी बनाएको टहरामा बस्न नसक्ने अवस्थामा तारेभिरवासी

आईतवार, जेष्ठ ३१, २०७२ साल,
काठमाडौं । भूकम्पले घर चर्किएपछि ऋण गरेर टहरा बनाई बसेका गोकर्णेश्वर नगरपालिका– ७ तारेभिरका स्थानीयवासी टहरामा पनि बस्न नसक्ने अवस्थामा पुगेका छन्। शुक्रबार रातभरको वर्षा र चट्याङले तारेभिर डाँडामा हानेपछि शनिबार बिहानबाट ठूला ढुङ्गा खस्न थालेको थियो । ढुङ्गा खस्न थालेपछि नगरपालिकाको वडा नं ७ का सबै बस्ती र वडा नं ८ का केही घर पनि जोखिममा परेको छ । 
 
तारेभिरमुनिका ३५ घर पहिरोको उच्च जोखिममा परेको स्थानीय विकास लामाले बताए। “वैशाख १२ गतेको भूकम्पमा साना ढुङ्गा खसेको थियो, केही समयमा रोकिएपछि डर हटेको थियो, शनिबार बिहान पुनः ठूला ढुङ्गा खस्न थालेपछि रातभर सुत्न सकिएन” – उनले भने। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको तारेभिरमा ठूला चट्टानको थुम्को रहेको छ । थुम्को माथिका ढुङ्गा छुट्टिएका छन् । छुट्टिएका ढुङ्गा जतिबेला पनि खस्न सक्ने भएकाले स्थानीयवासी आतङ्कित बनेका छन् । डरले स्थानीयवासी नजिकैको गोठसल्लाघारी सामुदायिक वनमा अस्थायी टहरा बनाई बस्न थालेका छन् । 
 
वनमा १५ परिवारमात्र बस्न सक्नेसम्म स्थान भएकाले अरु परिवार भिरालोमा बस्नुपर्ने भएको स्थानीय कृष्णबहादुर तामाङले बताए। “शनिबार बिहान ढुङ्गा खस्दा ठूलो आवाज र कम्पन आएकाले त्रास बढेको छ” – उनले भने। 
 
तारेभिरको मुनिनै रहेको तारेभिर गुम्बामा बस्ने कान्छा लामा ढुङ्गा खस्दा आएको आवाजको त्रासले अझै सताइरहेको बताउँछन्। तारेभिरमुनिको मूलबाट ल्याएको खानेपानीको स्रोतमा केही समस्या भएर धारामा पानी नआएकाले पानी हेर्न जाँदा ढुङ्गा खस्न थाल्यो । आँखा अगाडि ठूला ढुङ्गा खस्न थालेपछि जीवनको आशा गुमाएकामा ढुङ्गा दायाँबायाँ भएरमात्र पुनर्जीवन पाएको उनी बताउँछन्। 
 
“गुम्बाको पर्खाल भत्किएर ठूला ढुङ्गाभित्र पसे पनि भौतिक र मानवीय क्षति भएन, भाग्यले बाँचियो त्यो क्षण सम्झँदा अहिले पनि जीउ काम्छ” – ढुङ्गा खस्दा नजिकै रहेका प्रत्यक्षदर्शी लामाले भन्नुभयो । 
 
विसं २०४७ मा १३ रोपनी जग्गामा निर्माण भएको गुम्बाका कर्मचारी अहिलेसम्म भिरको ढुङ्गा खसेको नदेखेको बताउँछन् । 
 
भिर खस्दा पहिलो प्रभाव पर्ने गुम्बाका लामा गुरु नवाङ चोटेन कहाँ सर्ने भन्ने पिरलो थपिएको बताउँछन् “गुम्बाका संस्थापक रिन्पोछे निमा टुल्कु अहिले भारतको गुम्बामा गएकाले उनी फर्किएपछि सल्लाह गरेर बसाइँ सारिने छ” – उनले भने।  
 
निकुञ्जसँग जोडिएको यस बस्तीका स्थानीयलाई घरबाट सहर ओहोरदोहोर गर्दा पनि शुल्क लिने गरेको कमल तामाङले बताए। “निकुञ्जभित्रैको नागी गुम्बालाई ज्वाइँ जस्तै गरी राखेर बाहिरका स्थानीयवासीलाई घर बस्तीमा ओहोरदोहोर गर्दा पनि रसिद काट्छन्, निकुञ्जभित्र प्राकृतिक प्रकोप आउँदा निकुञ्जका अधिकारी हेर्नसम्म पनि आएका छैनन्” – उनले भने। 
 
 
भूकम्पको समयमा आएको झट्का भन्दा लामो झट्का आउँदा शनिबारबाट बस्ती छोडेका स्थानीयवासी ढुङ्गा खस्न बन्द हुँदा पनि बस्तीमा फर्कन सकेका छैनन् । तामाङ बस्ती रहेको तारेभिरमा त्रासको वातावरण सिर्जना हुँदा नेपाल टेलिकमको टावरले राम्रो काम नगरेकाले छिटो सञ्चार सम्पर्कसमेत हुन नसकेको स्थानीयवासीको गुनासो छ । 
 
नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र तिवारी प्रारम्भिक चरणमा ५० घर जोखिममा देखिएको र भिरको चट्टान पूरै खस्ने सम्भावना भए/नभएको अध्ययन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भौगर्भिक अध्ययनको व्यवस्था मिलाउन लेखी पठाइएको बताउँछन्।  
 
“भिर पूरै खस्ने अवस्था भए नगरपालिकाको ७ र ८ नं वडाको ५०० घर नै सुरक्षित स्थानमा सार्नुपर्छ, यस्तो अवस्थामा नगरपालिकाभन्दा माथिल्लो निकायको सहयोग आवश्यक्ता पर्छ” – उनले भने। 
 
काठमाडौँका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल आज खानी तथा भूगर्भ विभागका भूगर्भविद्को समूह तारेभिरको भौगर्भिक अध्ययनका लागि पठाइएको र भोलि जिल्ला भू–संरक्षण कार्यालयका समूह पनि पठाउने तयारी भएकाले त्यसको प्रतिवेदन आएपछि मात्र वास्तविकता भन्न सकिने बताउँछन्। 
 
असुरक्षित महसुस गरी सर्न चाहनेलाई नगरपालिका, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सुरक्षित स्थानमा लैजाने काम भइरहेको नगरपालिकाले जनाएको छ । रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411