पेट्रोलबाट उठाएको ५ रुपैयाँ खोई ?

मंगलवार, आषाढ ३, २०७६ साल,
काठमाडौं । सरकारले उपभोक्तासँग पेट्रोलबाट प्रतिलिटर ५ रुपैयाँका दरले उठाएको करिब २५ अर्ब रुपैयाँ कहाँ खर्च भयो भनेर सांसदहरुले सरकारसित चासो राखेका छन् ।

मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा सांसद तेजुलाल चौधरीले बुढीगण्डकीका लागि भनेर उठाइएको ५ रुपैयाँ कुन क्षेत्रमा खर्च गरियो भन्दै प्रश्न गरे ।

सांसद मैना भण्डारीले पनि बुढीगण्डकी बनाउनका लागि भनेर पेट्रोलबाट उठाइएको पैसा कहाँ खर्च गरेको भन्दै सरकारलाई प्रश्न गरिन् । पेट्रोलबाट उठेको पैसा उद्देश्य भन्दा बाहिर खर्च भएको हो कि भन्दै उनले ऊर्जामन्त्री वर्षमान पुनसँग जवाफ मागिन् ।

सरकारले आर्थिक बर्ष २०७३ ७४ को बजेट भाषणमार्फत बुढीगण्डकी निर्माणमा लगानी जुटाउनका लागि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ कर लगाउने घोषणा गरेको थियो । बजेटमा घोषणा भएसँगै ०७३ जेठ १६ गतेदेखि सरकारले यसलाई कार्यान्वयनमा ल्याएको थियो ।

लेखा समितिको बैठकमा सांसदहरुले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँका दरले उठाएको रकम कहाँ खर्च भयो भनेर चासो राखेपछि ऊर्जामन्त्री पुनले २५ अर्ब रुपैयाँ मुआब्जा वितरणमा खर्च गरेको बताए ।

बुढीगण्डकी आयोजनाका प्रभावित क्षेत्रका ६४ हजार जनता विस्थापित हुने भन्दै उनले तीमध्ये गोरखा क्षेत्रलाई मात्र २५ अर्ब रुपैयाँ बराबरको मुआब्जा बाँडिएको जानकारी दिए । मन्त्री पुनका अनुसार ०७३ जेठ १६ देखि हालसम्म ५ रुपैयाँका दरले ३० अर्ब रुपैयाँ संकलन भएको छ ।

‘त्यसमध्ये २५ अर्ब रुपैयाँ मुआब्जा बाँडेर ५ अर्ब रुपैयाँ बाँकी छ र यो पनि मुआब्जामा नै खर्च गरिने छ,’ उनले भने । बुढीगण्डकीबाट चिनियाँ कम्पनी गेजुवा भागेको भन्ने हल्ला निराधार भएको मन्त्री पुनले दाबी गरे ।

गेजुवा सम्पर्कमै रहेको भन्दै उनले केही दिनअघि मात्रै उसले भागेको हल्ला ठीक होइन भनेर पत्र पठाएको जानकारी दिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411