हरेक छोरीलाई २० बर्षसम्म मासिक सय रूपैयाँ भत्ता

मंगलवार, आषाढ ३, २०७६ साल,
दाङ । तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट छोरी, बिहेवारी बीस वर्ष पारि’ भन्ने कार्यक्रम ल्याएको छ । नगरप्रमुख घनश्याम पाण्डेले आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममार्फत सो कार्यक्रम ल्याएको जानकारी दिए ।
 
अब आर्थिक वर्षदेखि जन्मिएका हरेक छोरीलाई ‘स्मार्ट छोरी’ कार्यक्रमअन्तर्गत प्रत्येक छोरीलाई जन्मेदेखि मासिक रु १०० का दरले वार्षिक रूपमा एकमुष्ट रु एक हजार २०० उपलब्ध गराउने नगरप्रमुख पाण्डेले जानकारी दिए । उनका अनुसार उनीहरुलाई दिइएको पैसा बैंक खातामा जम्मा गरेर २० वर्ष पुगेपछि एकमुष्टरूपमा उपलब्ध गराइने छ ।

यदि कसैले २० वर्ष नपुग्दै अगाडि विवाह गरे भने सो रकम उपमहानगरपालिकाको कोषमा फिर्ता हुने उपमहानगरपालिकाको नीति रहेको छ । सो कार्यक्रमले बालविवाह न्यूनीकरण गर्ने र छोरीलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने उपमहानगरपालिकाका प्रमुख पाण्डेले बताए ।

यसैबीच उपमहानगरपालिकाले उपमेयर महिला सुरक्षा कार्यक्रम पनि लागू गरेको छ । लैङ्गिक हिंसामा परेका महिलाको उपचार, पुनःस्थापना र सुरक्षाका लागि उपमेयर महिला कार्यक्रम सञ्चालन गरी महिला सुरक्षामा जोड दिने नीति ल्याइएको हो ।

त्यसैगरी उपमहानगरपालिकाले ‘सक्षम महिला, विकासमा पहिला’ अभियानका लागि महिलाको सशक्तीकरण, नेतृत्व विकास उद्यमशीलता र सीप विकास गरी महिलालाई विकास तथा निर्माण, योजना निर्माण, योजना कार्यान्वयन र अनुगमनमा सहभागिता सुनिश्चित गर्ने पनि नीति ल्याएको छ । असी वर्षमाथिका ज्येष्ठ नागरिकलाई नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर आगामी वर्षमा उपमहानगरपालिकाभित्र, दाङ र प्रदेश नं ५ का धार्मिक र पर्यटकीयस्थलमा भ्रमण गराउने नीति उपमहानगरपालिकाले पारित गरेको छ ।

दाङको धारापानी, लुम्बीनी, स्वर्गद्वारीजस्ता पर्यटकीय र तीर्थस्थलमा भ्रमण गराउनका लागि आवश्यक बजेट विनियोजन गरिने उपमहानरपालिकाले जनाएको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411