लोकसेवाको विज्ञापन रोकेर आफ्ना ‘भाइभतिजा’लाई जागिर दिन करारको बाटो

सोमबार, जेष्ठ २७, २०७६ साल,
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रवारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले आक्रोश पोखेका थिए । उनले भनेका थिए ‘हामीलाई पीडा छ । हजुरहरू आउनुस्, मेरो मन्त्रालयमा । तलदेखि माथिसम्म हेर्नुस् । हरेकले मागेको छ त्यहाँ मान्छे । करारमा दिनसक्छौं त हामी अहिले ? हिजो ब्लड रिलेसनका मान्छेहरू राखिएका छन् । कि भन्नुपर्‍यो हाम्रा भाइभतिजा राख्न पाउनुपर्छ भनेर । बोल्दिनुपर्‍यो हजुरहरूले, हामी राख्न तयार छौं । त्यो ठाउँमा स्वच्छ, सक्षम नेपाली नागरिकले जागिर खान पाउने कि नपाउने ?’

सचिव कोइरालाले यस्तो आक्रोश पोखेको दुई दिनपछि समितिले ुभाइभतिजाुलाई जागिर खुवाउन बाटो खोलिदिएको छ । लोक सेवालाई विज्ञापन रद्द गर्न निर्देशन दिने पहिलो निर्णय गरेको समिति बैठकले तेस्रो नम्बरमा करारमा नियुक्ति गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

समिति सदस्यहरूले भाइभतिजाले जागिर खान पाउनुपर्छ भनी तोकेरै त भनेनन्, तर त्यसका लागि आधार तयार पारिदिएर सचिव कोइरालाले ‘नचाहेर राखेको’ माग पूरा गरिदिएका छन् ।

समितिले गरेको निर्णयको तेस्रो नम्बरमा भनिएको छ– ‘स्थानीय तहको कार्यबोझलाई मध्यनजर गरी उक्त तहको कार्य सम्पादनका लागि आवश्यक पर्ने कर्मचारीहरू व्यवस्थापन गर्न हाललाई संघको दरबन्दीमा रहेका पुल र फाजिलका कर्मचारीहरूलाई स्थानीय तहमा काजमा खटाउने र स्थायी पदपूर्ति नभएसम्मका लागि आवश्यकता अनुसार निश्चित मापदण्डका आधारमा कर्मचारीहरू करारमा नियुक्ति गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा  सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने ।’

यो बुँदाले करारमा कर्मचारी नियुक्ति गर्न बाटो खोलिदिएको छ । करारमा नियुक्त गर्दा नेता तथा पहुँचवालाका नातागोता र आफन्तहरूले मात्र अवसर पाउने गरेको कुरा कसैबाट छिपेको छैन । सचिव कोइरालाले पनि ‘ब्लड रिलेसनका मान्छेहरू’ भनेर यही कुरालाई संकेत गरेका थिए ।

समितिले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएपछि सरकारी सेवामा प्रवेश गर्न चाहने लाखौं युवा प्रभावित भएका छन् । विशेष गरी परीक्षाका लागि आवेदन दिइसकेका ७० हजारभन्दा बढी युवा मर्कामा परेका छन् ।

लोक सेवा आयोगले यही जेठ १५ गते ५१५ स्थानीय तहमा ९ हजार १ सय ६१ पदका लागि आवेदन आह्वान गरेको थियो ।

लामो समयपछि लोक सेवाको विज्ञापन खुल्दा परीक्षाको तयारीमा रहेका युवाहरू उत्साहित भएका थिए । ट्रेनिङ इन्स्टिच्यूटहरूमा लोक सेवाको परीक्षासम्बन्धी कक्षा लिने प्रशिक्षार्थीहरूको भीड लागेको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411