अब साझा बसमा भाडा तिर्न पैसा बोक्नै नपर्ने

मंगलवार, जेष्ठ २१, २०७६ साल,
काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सबै साझा बसमा अब कार्डबाटै भाडा तिर्न सकिने भएको छ। साझा यातायातले आफ्ना ५१ वटा बसमा उपकरण जडान गरेर कार्डमार्फत नै भाडा तिर्न सकिने व्यवस्था गरिएको साझाका प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए।

यस्तो कार्ड दुई सय रुपैयाँ तिरेर साझाको केन्द्रीय कार्यालय पुल्चोकबाट लिन सकिन्छ जसमा ब्यालेन्स पनि दुई सय रुपैयाँ नै हुन्छ। ‘हामीले कार्डमा थप कुनै शुल्क लिएका छैनौं, मूल्य जति हो, त्यति नै ब्यालेन्स हुन्छ,’ उनले भने।

बस चढेपछि कार्ड हुनेहरूले बसमा भएको उपकरणमा छोएर वा सहचालकको सहयोगबाट भाडा तिर्न सक्छन्। साझाले कायम गरेको दरअनुसार कार्डबाट रकम काटिन्छ।

कार्ड रिचार्ज गर्न पनि कुनै समस्या नहुने उनी बताउँछन्। बसमै सहचालकसँग भनेर वा पुल्चोक कार्यालयबाट रिचार्च गर्ने सुविधा रहेको पाण्डेले बताए।

‘कार्ड धेरै विस्तार भएपछि रिचार्ज सेवा पनि बढाउँदै लैजाने लक्ष्य छ’ उनले भने। हालसम्म ५ सय वटा कार्ड वितरण भएको उनले बताए।

नेपाल बैंकसँगको सहकार्यमा साझाले थालेको यो अभियानले तीव्रता भने पाउन सकेको छैन। सरकारले बजेटमार्फत पनि विद्युतीय कार्डको प्रयोग प्रोत्साहन गर्ने नीति लिएको छ। तर अन्य सार्वजनिक सवारीसाधनले वास्ता नगर्दा कार्डको प्रयोग बढ्न सकेको छैन।

‘सर्वसाधारणलाई कार्डको महत्वबारे जानकारी नहुँदा पनि प्रयोग बढ्न नसकेको हो,’ प्रवक्ता पाण्डेले भने। अरू बस कम्पनीहरूले पनि यस्तो व्यवस्था गरे कार्ड प्रयोग बढ्ने जानकारहरू बताउँछन्।

कार्ड बोक्दा पैसा चोरिने वा हराउने डर हुँदैन। खुद्रा सिक्का बोक्नुपर्ने वा ठगिने झन्झट पनि हुँदैन।

‘१८ रुपैयाँ भाडा लाग्ने भएमा यात्रुले १८ रुपैयाँ नै तिर्छ, खुद्रा भएन भनेर २ रुपैयाँ गुमाउनुपर्ने अवस्था हुँदैन’ पाण्डेले भने। नियमित रुट पर्ने ग्राहकका लागि कार्ड निकै उपयोगी भएको उनी बताउँछन्।

एउटा कार्ड भएपछि जुनसुकै बसमा चढ्दा पनि प्रयोग गर्न सकेमा यसको विस्तार हुने उनको भनाइ छ। हाल साझाको यो कार्ड लिनेले साझामा मात्रै प्रयोग गर्न सक्छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411