दाइजो नपाउँदा बेहुलीलाई विवाह मण्डपमै छोडेर बेहुला हिडेपछि...........

बिहीवार, जेष्ठ ९, २०७६ साल,
काठमाडौं । मोरङको जहदा गाउँपालिका ४ मा दाइजो नदिँदा बेहुली विवाह छोडेर हिँडेका बेहुला पक्राउ परेका छन्।

जेठ ३ गते २४ वर्षीय लक्ष्मण राजवंशी दाइजो नपाएपछि विवाह मण्डपबाटै हिँडेका थिए। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। मण्डपबाटै बेहुला हिँडेपछि जन्ती त्यत्तिकै फर्किएका थिए।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार जहदा ४ का राजवंशी र सोही वडाकी २१ वर्षीय एक युवतीका पक्षबीच कुराकानी भएर राजीखुसीका साथ जेठ ३ गते विवाह सुरु भएको थियो।

स्थानीय बासिन्दाका अनुसार सुरुमै दाइजो नदिने सहमतिमा दुवैपक्ष बिहे गर्न राजी भएका थिए। बिहेको कार्यक्रम चलिरहेका बेला बेहुलाले मण्डपमै मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेवल खोजेका थिए। त्यो नपाउने थाहा पाएपछि उनी हिँडेका थिए।

बेहुली पक्षले आर्थिक अवस्था न्यून भएकाले माग भए बमोजिमको दाइजोको सामग्री दिन नसक्ने बताएपछि राजवंशी बेहुली छोडेर राति १ बजे हिँडेका थिए।

बेहुलासँगै जन्ती पनि बिहे घरबाट हिँडेपछि बेहुली पक्षले प्रहरीमा जाहेरी दिएका थिए। स्थानीय बासिन्दाले पनि दाइजोको निहुँमा बेहुली अस्वीकार गरेर युवतीको भविष्यमाथि खेलवाड गर्न खोजेको भन्दै राजवंशीमाथि कारवाहीको माग गरेका छन्। महिला अधिकारकर्मी सञ्जु साहले दाइजो लिन र दिन नहुने कुरा कानुनले स्पष्ट व्यवस्था गरेको बताइन।

फरार रहेका बेहुलालाई खोजी गर्ने क्रममा जहदा ४ बाटै पक्राउ गरिएको डीएसपी श्रेष्ठको भनाइ छ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411