‘टेलिफोनका टावरमाथि बम प्रहार गर्ने कुरा बहादुरी हो भनेर लेख्ने कुन पत्रकारिता हो ?

मंगलवार, बैशाख ३१, २०७६ साल,
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताएका छन्।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइवर टु द होम सेवाको आज उद्घाटन गर्दै उनले प्रेसका नाममा छाडातन्त्र गर्ने काम भने स्वतन्त्रताको मूल्य र मानक नभएको बताए।

सरकार प्रेसप्रति पूर्वाग्राही नभएको स्पष्ट गर्दै उनले विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलनसमेत हेरिएको बताए।

अमेरिकामा पनि एक करोडसम्मको जरिवाना हुने गरेको छ भन्दै उनले आतङ्कवादलाई संरक्षण गर्दै लेखेमा मृत्युदण्डसमेत दिइने गरेको बताए।

सामाजिक न्यायको हिसाबले पनि विषयलाई हेर्नुपर्नेछ भन्दै उनले पेश गरिएका र पेश गर्न लागेका कानुनी कुरा स्वस्थ, मर्यादित र जिम्मेवार भएर अन्तर्राष्ट्रिय प्रचलन हेरेर पेश गरिरहँदा त्रुटि देखिएमा भने ती कुरालाई सधैं स्वागत गरिने बताए।

अरु नै मनमा कुरा राखेर चलाइएको होहल्लाबाट प्रभावित हुन नसक्ने बताउँदै मन्त्री बाँस्कोटाले भने, ‘बहिष्कार आदि इत्यादिको अर्थ छैन। सत्ता लुछेर, कू गरेर आएको चिज होइन। यो जनताद्वारा निर्वाचित सरकार हो।’

संवाद भने जरुरी रहेको र गर्नुपर्ने उनले बताए।

उनले भने, ‘सत्ता हेरेर कानुन बन्दैन, लोकतन्त्र हेरेर कानुन बन्नुपर्छ, संविधान हेरेर कानुन बन्नुपर्छ।’

शान्ति, सुशासन, समृद्धि  र राजनीतिक स्थिरतालाई भत्काउने केही तत्व सक्रिय छन् भन्दै उनले प्रश्न गरे, ‘टेलिफोनका टावरमाथि बम प्रहार गर्ने कुरा बहादुरी हो भनेर लेख्ने कुन पत्रकारिता हो ?’ यस्तो पत्रकारिता हो कि पत्रकारिताको खोल ओढेको आतङ्कवादको संरक्षक हो वा प्रचारक हो भन्ने प्रश्न गर्दै उनले भने,‘के संसारमा आतङ्कवादी गतिविधिलाई प्रेस स्वतन्त्रताको ढालले रोक्न सक्छ, छेक्न मिल्छ ?’

समाचार लेखेर कोही पनि पक्राउ पर्दैन भन्दै उनले गलत मिशनमा लागेर शान्ति र न्यायलाई चुनौती दिने हकमा कानुन सक्रिय हुने बताए।

अधिकार पानामा लेखेर नहुने बताउँदै उनले भने,‘आर्थिक सुनिश्चितता त्यसको पहिलो आधार बन्छ, अनि मात्र स्वतन्त्र प्रेस हुन्छ, सम्पादकीय स्वतन्त्रता बाँकी रहन्छ। हामीले गर्न खोजेको त्यत्ति हो।’

उनले थपे, ‘नियमन हामी गर्छौं, संसारभरि नै यो हुन्छ।’

संविधानभन्दा बाहिर कुनै पनि कानुन नबन्ने बताउँदै उनले प्रायोजित आन्दोलनको कुनै ओखती नहुने बताए। कोही साथी कुरै नबुझी दौडिरहेको बताउँदै उनले  भने, ‘तपाईंले लेखेपछि जवाफदेहिता बोक्नुपर्छ, पुष्टि गर्नुपर्छ। त्यत्तिकै आरोप लगाउन पाइँदैन।’

सरकारले अहिले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न खोजेको भन्दै उनले यसले साना मिडियालाई सहयोग पुग्ने बताए। क्लिन फिड लागू हुँदा रु छ –सात अर्ब जोगिने पनि उनले बताए।

कालो झण्डा लिएर हिँड्नेसँग नडराउने भन्दै उनले भने, ‘प्रजातन्त्रमा कालो झण्डा, जुलुस सबै खाउँला तर लोकतान्त्रिक प्रणालीलाई सुदृढीकरण बनाउने कुरामा पछि हट्दैनौं।’

मन्त्री बाँस्कोटाले सरकारले पत्रकारलाई न्यूनतम पारिश्रमिक दिनुपर्छ भनेको तर दिनुहुँदैन भन्नेको मोर्चाबन्दी बनेकामा असन्तोष व्यक्त गरे। रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411